निरक्षर जनता सार्वभौमसम्पन्न नेपालको नारा

-पुष्कर काफ्ले

सार्वभौमसम्पन्न नेपाली समाजभित्र कथित आर्दशवादी मनस्थितिमा हुर्किएका समूहका नाइके र तीनका हाउभाउले देशको अस्थिर चरित्रलाई मलजल गरेको छ । देश विकासको पहिलो खुड्किलो भनेको सचेत र शिक्षित समाज र त्यसभित्रका कु र सुकार्य छुट्याउन सक्ने क्षमता भएका व्यक्ति हुन् । तर व्यक्ति व्यक्तिमा सचेतनाको प्रष्ट खाका नबन्नाले देशले आम अपेक्षाकृत रुपमा लयमा उम्भिन सकेको छैन । समाजको ठूला जानेका भनौदाले आफूले मात्रै बुझेको जसरी खोक्रा आश्वासन र प्रलोभनको जालोमा पारेर ति जानकार विहिन निमुखालाई हाडीका मकै जसरी जानेका बुझेका मान्छेबाटै शब्दका वाणी, आर्थिक प्रलोभन र दम्भका आधारमा भुटिएको मकै जसरी सत्ता र शक्तिका लागि वर्षेदेखि भुटी खाने काम भएको देखिन्छ । जबसम्म व्यक्तिलाई समान शिक्षा, सामाजिक वातावरण तथा प्रविधिको समान पहुँच पुर्याउने सोको खाका बन्दैन तबसम्म हाडीभित्र भुटिने र भुटिई खानेबीचको असमान खाडल झन् झन् बढेर जानेमा दुइमत छैन ।
नेपालमा धनी गरिब, तल्लो जाती माथिल्लो जाती र थोरै जानकार त्यस समाजका महाजन र बाबुसाहेबहरुलाई बाँध्न नसकिने न्यायिक निकाय नबन्दा आआफ्नै मनमौजी, चर्को ब्याजदर, हलीकर्ता र आजको पोषण भनेको नाताबाद र टिको लगाएर दिने उच्च पदले सार्वजनिक संस्था गिजोलिएका छन् अझ भन्नुपर्दा ती आफ्ना कार्यकर्ता मातहतमा रही अघोषित रुपमा संस्था, कार्यालय कब्जामा छन् ।
कतियप कुरा परम्परागत जातियताको फेरोमा नै रहिरहँदा त्यसले समाजमा विकसित रुपमा आफ्नो धार परिर्वतन गर्न सकेको देखिदैंन । यसैको उदाहरण, जातीय विभेद कामका आधारमा लागाइदिदाँ ब्राहमण समुदायले आफू अनुकुल नियम लादिने संस्कार र परम्पराले घरका एक व्यक्ति वा मुली बित्दा १ वर्षसम्म १७ वटा तिथी र सर्राद्ध गराउनुको बदला १ वर्षसम्म सबैले त्यो दुखी परिवारलाई १७ तवरले सहयोग गरी बाँचेकाले फेरी टेको पाउने नियम नभएर वर्षभरी उल्टै ब्राहमणलाई क्रण गरेरै भएपनि पोस्ने जसमा मरेका आफ्नालाई धरौटी राखी डर देखाएर मरेपछि दुख पाउने भ्रम देखाई लुट्ने काम भयो चल्तिमा यही छ ।
समग्र पक्षलाई नेतृत्वदायी भूमिकामा अंगाल्ने ल्याकत राख्ने शिक्षा क्षेत्रमा राम्रा संकेत देखा परेका छैनन् । नि.मा.वि. कक्षासम्म ४१ लाख भर्नाहुदाँ यो क्रम मा.वि.स्तरसम्म आइपुग्दा १२ लाखमा झर्ने बाँकी २९ लाख विधार्थीले न्यूनतम आवश्यकता पनि नपाउने कारणले देशका विभिन्न होटल कलकारखाना र गाडीका खलासी भएर भारत तर्फको यात्रा तय गरेको तथ्याड्ढ पाइन्छ । तिनै २९ लाख भोलीको सक्षम र सम्मृद्ध राष्ट्र बनाउन सक्ने नेतृत्वका योग्य स्रोत हुन् तर मुलधारबाट उनीहरु बन्चित छन् ।
राणाशासन, राजतन्त्र, प्रजातन्त्र, माओवादतन्त्र, लोकतान्त्रिक गणतन्त्र सबैको पल्लाभारी बनाइदिएर सत्ता र शक्तिमा पुर्याउने, जनतामा आशाको बिजारोपण गराउने तर निराशाको बाली भित्रिने क्रान्ति चलिआएको देखिन्छ । धनी, गरिब, जमिन्दार र हलीको असमान व्यवहार र जिवनशैलिलाई एकै खालका आखाँले हेर्न मिल्ने खालका नारा लिएर धेरैतन्त्र र पार्टीको उदय नभएको हैन । पुराना व्यवस्था र अनुहारबाट दिक्क भएका नेपाली जनता आफैमा अस्थिर बनेका छन् कारण आफूले चुनेर पठाएका जनप्रतिनिधी आफ्ना नागरिकको हितको खातिर काम त परै जाओस् चुईक्क बोल्ने ल्याकत राख्दैनन् । सार्वभौमसम्पन्न संसदमा आफ्नो देश हितको पक्षमा वकालत गर्न सक्दैनन् त्यसैले पनि हामीले अंगालेको संसदीय व्यवस्थाको गरिमा र आवश्यकतामै प्श्नचिन्ह उठेको छ । जनतालाई भुलाउन पटकपटक अब चाही नयाँ व्यवस्था र हाम्रो अनुहार देखिने ऐना भन्दै जनताको नाममात्रै भजाउने र तमाम देशका जनतालाई अध्याँरोमा धकेल्दै पछिलाग्ने बनाउने परिपाटी आजका दिनसम्म नि अनवरत चलिरहेको छ ।
विभिन्न शासन पद्धति अंगालेपनि जनतालाई कहिल्यैपनि गन्तव्य किटान गरेर हिँडाल्ने काम भएन । जनतालाई कुनबाटो हिँड्दा कहाँ पुगिन्छ भन्ने नत बुझ्ने मौका नै दिइयो न त बुझाउने काम नै भयो । मात्रै उपयोग गरियो । फगत आफू चढ्ने सहयोगीको रुपमा खुड्किलोमात्रै बनाइयो । पछिल्लो समय माओवादी द्धन्द्धकालमा अड्डभड्ड भएका परिवार, सहिद परिवार, बर्हिगमित पूर्व लडाकुलाई पुरैवेवास्ता गरियो । त्यस क्रान्तिका उद्गम स्थलमा नाइके भनौदाहरु अझ भनौं अग्रगामी छलागंको सपना देखाउने मन्त्रालय र प्रधानमन्त्री भैसकेपछि त चितवन कटेर जनताका आशा र घाउमा मल्हम लिएर पुग्ने शाहस कहिल्यै देखाउन सकेनन् । उनीहरु शहरको सुविधाले नै सारा जनता आफू बनिसकेको भानमा परे या उनीहरुलाई कुनै केहीको सरोकार भएन । नाताबाद र कृपाबादमा नराम्ररी जेलिए त्यहाँबाट जनतालाई हेर्न सक्ने आखाँमा बादल डम्मै लाग्यो । सिमित व्यक्तिका स्वार्थ र सत्ताको मोहले आफ्नो र परिवारको सुख दिनेसम्मको लागि राम्रै सावित हुन्छ तर भविष्यमा पूरा देश र भावी पिडिले कुन क्रण कहिले चुकाउने हो सोच्दैं आम जनताले स्थिति भयावह भएका र हुने मनन गर्दे अन्तिम श्वाससम्मको यात्रा तय गर्ने बाध्यता छ ।
साधारण व्यक्तिलाई आफ्नो वसमा पार्नेजस्तो कि धामीले रातो भाले नपाउँदासम्म मन्त्र र कुचाका घेराबन्दीमा पारेर राखेजस्तो आफ्नो स्वार्थपूर्ति नहुदाँसम्म जनता त्यसपछि आफ्ना परिवार र नातेदार मात्रलाई जनता देख्ने पद्धति हावी भएको देखिन्छ ।
महाभारतमा एक दृष्टिविहिन राजा धृतराष्ट्रलाई पद र सत्ताको लालसा, छोरा दुर्योधनको घमण्ड र आडम्बरले पूरा कौरव सेना विनास भएको इतिहास साक्षी छ । रबर पनि कुनै न कुनै एक तहसम्म लचकदार भएर तन्कने त्यसपछि धैर्य समाप्त भएर चँुडिने हुन्छ । त्यसैले त्यो क्षमता र आफू केका लागि दक्ष छु त्यतिसम्म आफ्नो दायरा सिमित गराएर दक्ष र क्षमता बमोजिमका काम गरिएको खण्डमा पूरा राष्ट्रनै लाभान्वित हुने देखिन्छ ।
व्यक्ति वा देश समृद्ध पथमा अघि बढ्न आफूमा आत्मनिर्भरता र दुरगामी विकासको लागि दातृ राष्ट्रको क्रण सहयोगको आवश्यकता पर्ने हुन्छ तर अरुकै भरमा सदा सदैव हात थाप्ने सहयोग यस्तो होस् कि त्यो दिर्घकालिन योजना र विकासको लागि प्रयोगमा ल्याइने र त्यही योजनाबाट नाफा गरी वार्षिक क्रण कटौति गर्ने क्षमता राखोस् । देशका कुन नेता र मन्त्रिका काँधमा क्रणको भार छ र यी नेतालाई देशमाथी क्रण बोकाउने अधिकार हामी जनताले दिइराखेका छौं र?
कुनै परियोजना राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका विकासका योजना नेपालजस्तो भूपेरिवेष्ठित र विकासन्मुख देशमा आउँदा पनि डराउनुपर्ने र विवादित हुनु भनेको पहिलेको इतिहासले त्यो योजना केही व्यक्तिको स्वार्थमा मात्र सिमित रहेको र देशको सर्वाड्डिण विकासमा त्यसको कुनै छनक नदेखिनु नै हो ।
नेपाल सम्वृद्धिको पथमा लाग्न नसक्नुको कारण इतिहासदेखि नै विदेशी वस्तुको मुख ताक्नेमात्रै प्रवृति रह्यो । चन्द्रशमशेर प्रधानमन्त्री हुदाँ विदेश भ्रमणको क्रममा त्यहाँ देखिएको विकासक्रम, यातायातका साधन, शिक्षा पद्धतिलाई त्यसै बखतबाट यहाँपनि क्रमिक रुपमा कार्यन्वयन गर्दे जानुपर्ने थियो तर त्यो भएन । त्यतिबेला उपहारस्वरुप १० वटा सवारी गाडी भित्राइयो । तर कहिल्यै प्रविधिलाई आत्मसाथ गर्दे नेपालमै विकास तथा निमार्णसम्मको तहसम्म लैजान सकिएन । प्राविधिक ज्ञानको लागि जनशक्ति सो देशमा पठाई नेपालमै उत्पादन गर्न सकेको भए अहिलेसम्म पनि अरुमा निर्भर हुनु पर्ने थिएन । फलस्वरुप अहिले स्वदेशमा साइकल समेत बनाउन नसक्ने स्थितिमा आइपुग्यौ ।
देशको विकास र सम्वद्धिको बाटोतर्फ लम्किनको लागि हामीले छिमेकी देश चीन, हिरोसिमा र नागासाकीको बम विस्फोटनपछिको जापान, क्षेत्रफलका आधारमा नेपालभन्दा सानो देश सिगांपुर र नेता लि वान क्यूले ब्रिटेनबाट स्वतन्त्रता पाएको इ.स.१९५९ बाट आजका दिनसम्म आइपुग्दा एक गरिब देश पूर्णरुपमा आत्मनिर्भरताको पथमा अघि बढेको त्यो उदाहरण भारतको प्रविधि विकास, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्सका साक्षरता आदी हेर्दा नेपालपछि परेको देखिन्छ ।
नेपालमा सदैव आन्तरिक कलह, र अगिंकृत नागरिकता, भष्टाचारमा लिप्त गणतन्त्र, नेपालको जमिनमा अगिंकृत व्यक्तिको संख्या वृद्धिसंगै त्यस क्षेत्रको मुल्याकंनमा वृद्धि हुनु, सत्तामा रहिरहन गरिने कर्म देश विकासको लागि भन्दा पनि अहोरात्र आफ्नो लागिमात्र लागि परिरहने देशका संचालकहरुले गर्दा पछि पर्यो ।
देशका अधिकांश जनशक्ति विदेश पलायन र स्वदेशमा भएकाहरु मध्येपनि जो राज्य संचालकहरुको संरक्षणमा मात्र टिक्ने अवस्था साथै नाताबाद र कार्यकर्ता उन्मुख विकासका योजना देशका लागि घातक सावित हँुदै जानु हो ।
देशको खम्बा मानिने लिडरहरुलाई कानूनी दायरामा लिन कानून न्याय, प्रशासन अख्तियार सबै ठूलो चुम्बकको वरिपरी मसिना फलामका कडा पिनहरु भएजस्तो भयो । कति सुविधा दिने, देशको आयले कति थेग्न सक्छ त्यसको लेखाजोखा गरी आफूमा देश अनुसारको भेष पार्नुपर्ने देखिन्छ ।
देशको कुल ग्राहस्र्थ उत्पादन बढाउन सकिएको खण्डमा मात्रै देशले सम्मृद्धिको पथमा अघि बढ्न सक्छ । आफूसँग भएको प्राकृतिक स्रोत र सम्पतिको भरपुर उपयोग गर्न दातृराष्ट्र र क्रणको भर पर्दा राम्रो मानिन्छ । अमेरिकाले सन् १९०१ देखि २००० सम्मको १०० वर्षमा गरेको विकास अहिले ४० वर्षभित्र चीनले गरेर विश्वसामु आफू हालसम्मकै दोस्रो र निकट भविश्वमै पहिलो महाशक्त्ति बन्ने दाउमा लम्किएको पाइन्छ । एक अमेरिका दुई रसिया वा तीन भनेको चीन एक नम्बरमै रहेछ । यो कोराना जस्तो महामारीमा विश्वकै एकमात्र देश चीनले अन्य देशहरुलाई राहत र विभिन्न स्वास्थय सामाग्री वितरण गर्न सक्नु नै आफू सफल भएको सावित गर्नु हो । नेपाल विश्वको एक बजार भएको अवस्था छ विशेषगरी छिमेकी देश चीन र भारतको लागि त महंगा महलका सटरदेखि साना सहका पसल सधै तिनै सामानको मुख ताकी उनीहरुका एजेन्ट जसरी बिक्रि गरिदिन बसीराखेका हुन्छन् । हाल नेपालको उधोग कलकारखाना भनेको त्यही भाडामा लिएको सटर, सपिड्ड मल नै हुन् ।
संघियतासँगै गाउँमा वडा, गाँउ, नगरपालिका, प्रदेश कार्यालयको स्थापना भएसँगै राजधानी बाहिरका जग्गाको मुल्यवृद्धि र त्यसैलाई बेचविखन गरी काठमाण्डौंमा एउटा घर चाहिन्छ जे गर्दा पर्दा काठमाण्डौ नपुगी हुन्न भन्दै राजधानीको विश्वसनियतामा कति पनि कमी आएको देखिदैंन । सुहाउँदो हावापानी र यहाँजत्तिको संरचना अन्य प्रदेशमा पुग्न सम्भवत समय लाग्ने देखेर होला बच्चाको भविष्य र कृषि क्रान्तिमा हिलो टेक्न नपरोस् भन्ने सोचले आम गाँउले किसानवर्गमा कृषि प्रतिको नकारात्मक सोच र वैज्ञानिक पद्धतिको विकासमा कमी, कृषि उपकरण र औजार, राहत वितरण पार्टीका कार्यकर्तामा हावी फलस्वरुप वास्तविक किसान मर्कामा पर्न जाँदा यो परिस्थितिको सिर्जना भएको पाइन्छ । अन्य विकल्प नभएका बचेकुचेका वास्तविक किसानले बाली,चौपायाबाट आर्जेको थोरै पैसा शहरमा बसेर उज्वल भविष्य बनाउने आफ्ना सन्ततीलाइृ पढाउने र तिनै शहरमा घर भएका घरधनीका बच्चाले त्यसलाई कुलत, विदेशी मोह,महंगा सवारीमा खर्च गरिदिदाँ देशको पैसा सहि तवरले उपयोग भएको देखिदैंन ।
सिक्किम र फिजिको इतिहास र हाल नेपालको अवस्थाले देशलाई कुन दिशातर्फ धकेलिरहेको छ सहजै अनुमान लगाउन सकिन्छ । सिक्किमका त्यस बखतका राजा चोग्याललाई पदस्थ बनाउन भारतले मोहोराको रुपमा प्रयोग गरिएको काजी लेन्डुप दोर्जे, फिजिमा भारतिय मुलका महेन्द्र चौधरीलाई मोहोरा बनाई अगिंकृत नागरिकताको योजना बनाई देशलाई कब्जा गर्ने रणनिती देखिन्छ ।
भारतीय विस्तारबादी सिद्धान्तको नीति १९६० तिरको फिजी र सिक्किमलाई कब्जामा राख्ने इतिहासले पनि नेपालका नेताहरुलाई चेतना दिनुपर्ने हो । शक्ति र सत्ताको अधिक मोहमा परेर देशको सार्वभौमसत्ता अर्को देशलाई जिम्मा अनी जीवनकालको उत्तराद्र्धमा आफू एक गोटी मात्रै भएको गल्तीको महसुस गर्नुले के त्यो देश अब सार्वभौम भएर प mर्काउन सम्भव हुन्छ । हाल नेपालको अगिंकृत नागरिकता त्यसैको नमुना भन्न पनि असहज नहोला ।
आफ्नै एउटै आमाका दुध चुसेका दुई भाइपनि आर्थिक रुपमा एक सबल र अर्का निर्धो हुदाँ हेपाहा प्रवृति देखिन्छ । देश सबल र सम्मृद्धिको बाटोतर्फ लम्किन नसक्ने हो भने छिमेकीले आफ्नो विस्तारवादी योजना अगाडी बढाउनु र हेपाहा, मिचाह प्रवृतिलाई स्वभाविक मानिनुपर्ने बाध्यता हुन्छ । त्यसैले अब पनि यही बाध्यतामा रहिरहने कि एउटा स्वतन्त्र, स्वाधिन, विकासिल र उन्नत राष्ट्रको पथमा लम्कने सबैले गम्भिर बनेर सोचौं ।

-पेसाले डेन्टल सर्जन काफ्ले सबैको सन्देशको नियमित स्तम्भकार हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close