यो देशमा म एउटा.. मानिस खोजिरहेछु !!

कृष्ण प्रसाद आचार्य/अर्घाखाँची।
छाडेर काम सारा एक काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु, भेटे कहि बताई हे राष्टका बटुही, रक्षार्थ जन्मिएका छन कि सपुत कोहि, यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु ।” डा.विश्वनाथ बरालको शब्द तथा संगीत अनि गायक शिशिर योगीको स्वर भएको यो गीत प्रत्येक नेपालीको मनमा बसेको छ । नेपाली जनताले २००७ सालको प्रजातन्त्र स्थापनापछि आफ्नो भाग्य विधाताको रुपमा एउटा मानिसनै खोजिरहेका छन्। बिपी कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह, मदन भण्डारी, प्रचण्ड, बाबुराम भट्टराई, केपी ओली लगायत केहि नेतालाई धेरै नेपालीले ‘एउटा मानिस’ को रुपमा हेरेका थिए ।
उनीहरु मध्ये केहिले अवसर पाएर पनि अपेक्षा अनुसारको काम गरेनन्, केहिले अवसर पाएनन् अनि केहि परिक्षित हुनु अघिनै षड्यन्त्रपूर्वक ढंगले मारिए ! संसारकै एक गरिब र भ्रष्ट देशको पर्याय बनेको नेपाललाई विकास र निकास दिन सक्ने मानिसको खोजि अझै जारी छ । नेपालमा युवा र शिक्षितहरु नेतृत्व तहमा नपुगेको, वैदेशिक हस्तक्षेप भएको लगायत अनेकन कारण देखाउँदै दोषारोपण गर्ने गरिन्छ । युवा वा शिक्षित मानिस प्रधानमन्त्री हुने हो भने मात्रै नेपालले निकास र विकास पाउँछ भन्ने कुरा पुरा सत्य होइन । नेतृत्व गर्ने मानिस इमान्दार र सक्षम छन् भने उमेरले युवा वा पाको हुने कुराले खासै फरक पर्दैन । लिबिया, उत्तर कोरियालगायत कयौँ देशमा युवा उमेरमा राष्ट्रप्रमुख भएर आफ्नो देशलाई अझै गरिबी र द्वन्दमा धकेलेर तानाशाही बनेका पनि प्रशस्त उदाहरण छन् । पाको उमेरमा राष्ट्रप्रमुख भएर पनि देश र जनताको पक्षमा उल्लेखनीय राम्रा काम गरेका पनि उरुग्वे, भारतलगायत देशहरुका कयौँ उदाहरण पनि छन् ।
निसन्देह: युवा संगै इमान्दार र सक्षम पनि हुनु सुनमा सुगन्ध हो किनकि युवामा तुलानात्मक रूपमा धेरै जोश र नयाँ सोच हुने सम्भावना बढी हुन्छ । तथापि, नेपालमा कतिपय युवा ओली, प्रचण्ड, देउवा भन्दा भ्रष्ट र असक्षम पनि छन् । भ्रष्ट नेतृत्वको चाकडी गर्ने अनि उनीहरुका निम्ति सडकमा मर्न र मार्न तयार हुने पनि अधिकांश युवा नै छन् । तसर्थ, देश र जनताको हित गर्न गरिने राजनीतिमा इमान्दारिता, नेतृत्व क्षमता र सामान्य सुजबुझ अत्यावश्यक सर्त हो, उमेर गौण विषय हो । ‘पाका उमेरका नेताहरुले स्व-इच्छाले पार्टी र सत्ता छोड्नु पर्छ’ भन्ने युवाहरुको बिन्ति र अनुनय बिनय नेपालको सन्दर्भमा हाँस्यास्पद देखिन्छ । युवा र प्रभावशाली नेता मानिने नेपाली काँग्रेसका गगन थापा र नेकपाका योगेश भट्टराईलगायत कतिपय युवा नेताहरु आफ्ना वृद्द भत्ता खाने उमेरका पाका र प्रमाणित असक्षम नेताहरुलाई ‘पार्टी र सत्ता बाट बिदा लिनुस्’ भनेर धेरै पटक बिन्ति गरेका छन् । पछिल्लो समय थापाले, पुरानो नेतृत्वले ठाउँ खाली नगरेको खण्डमा चुनावी मैदानबाट नै परास्त गर्ने रणनीति लिएको कुरा भने राम्रो संकेत हो । इमान नै नभएका अनि राजनीति बाहेक अन्य कुनै पेसा नै नभएका भ्रष्ट नेताहरुलाई ‘स्व-इच्छाले पार्टी र सत्ता छोड्नुस’ भन्ने बिन्तिले काम गर्दैन ।
इमान्दार र नेतृत्व क्षमता भएको युवाको उदय भएपछि, जनताको मन र मत जित्दै चुनावी मैदान बाटै पार्टी र सत्ताको नेतृत्वमा पुग्न सकिन्छ । ‘पाका उमेरका नेताले छोडिदिए, हाम्रो पालो आउने थियो’ भन्ने लाचारिपूर्ण आश गर्ने युवाहरु इमान्दार र सक्षम होइनन् । इमान्दार नेतृत्व सत्तामा भएको भए कोरोना महामारीमा कोहि जनता भोकै हुनु पर्ने थिएन, उपचारबिहिन भएर अस्पताल चाहर्दै बिरामीको मृत्यु हुने थिएन, महामारीमा समेत औषधिलगायत सामग्री खरिदमा भ्रष्टाचार हुने थिएन । फेरी अर्को पुस्ताले यो देशमा एउटा मानिस खोज्नु नपरोस् । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलालगायत केही अत्यन्त नैतिकवान नेतृत्व पनि विश्वमा हुन्छन जसले चाहँदा जीवनभरि पदमा रहन सक्छन तर उनीहरूले सहजै नयाँ पुस्तालाइ पद हस्तान्तरण गर्छन् । इमान्दार र सक्षम नेताले आफ्नो उत्तराधिकारीका निम्ति दर्जनौँ योग्य पात्रलाई तयार पार्ने गर्छन् तर नेपालमा बाँचुन्जेल आफैँ पदमा रहने अनि कुनै पद दिनु पर्दा पनि आफ्ना आफन्त, गुट र लेनदेनका आधारमा हुने गर्छन् ।
प्रजातान्त्रिक देशहरुमा अधिकांश नेताहरुले एक वा बढीमा दुई कार्यकाल सम्म नेतृत्वतहमा बसेर देश र जनताको सेवा गर्छन् । त्यसपछि, राजनीतिदेखि अलग रहेर प्राध्यापन, समाज सेवा, पेसा, व्यवसाय गर्ने गर्छन् । नेपालमा अपवाद बाहेक स्थानीयदेखि केन्द्रसम्मका अधिकांसश नेताहरुको पेसा भनेकै राजनीति हो र उनीहरू आजीवन नेतृत्व तहमा रहेर ७ पुस्तालाई पुग्ने गरि भ्रष्टाचार गर्न चाहन्छन् । राजनीतिलाई पेसा बनाएकाले नै खाली खुट्टा काठमाण्डौ पसेका अधिकांश नेता करोडपति भएका छन् । झुपडीमा जन्मिएका नेताहरुले जनताको घरलाई गोठ भन्न थालेका छन् । उनिहरु बिपी कोइराला र मदन भण्डारीको नाम भजाएर देश र जनता प्रतिघात गरिरहेका छन् ।
लेखक कृष्ण प्रसाद आचार्य सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा जन्म भई हाल अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क रहेको साना शहरी खानेपानी तथा सरसफाइ मुल संस्था खानेपानीको कार्यालय प्रमुख पदमा रहि कार्यमा काम गदै आउनुभएको छ ।
कमेन्ट गर्नुहोस !