जयनगर आइपुग्यो नेपालको रेल, शुक्रबार जनकपुर आइपुग्‍ने

एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ ।

रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि बिहीबार नै हिँडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ‘रेलको दुवै सेट शुक्रबार जनकपुर आइपुग्ने सम्भावना छ,’ उनले कान्तिपुरसँग भने, ‘जनकपुरका लागि रेल हिँडिसकेको छ । बिहीबार साँझ जयनगर आइपुगेको छ । शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्छ ।’भारतबाट हिँडेका रेलको दुवै सेट शुक्रबार अपराह्न ३ बजेतिर जनकपुर आइपुग्ने सुरक्षा स्रोतको दाबी छ । ट्रायलका लागि शुक्रबार जनकपुरसम्म आउने रेलको सुरक्षार्थ प्रहरी परिचालन गरिदिन विभागले सुरक्षा निकायलाई अनुरोध पनि गरेको छ । धनुषाका एक प्रहरी अधिकारीका अनुसार रेल आउने मार्गका ३२ ठाउँमा प्रहरी ड्युटी राखिएको छ । रेल नेपाल भित्रिने यकिन समयतालिका भने सुरक्षा निकायलाई पनि उपलब्ध गराइएको छैन । ‘शुक्रबार रेलको सेट बुझ्ने मात्र हो । कुनै औपचारिक कार्यक्रम राखिएको छैन,’ विभागका महानिर्देशक मिश्रले भने, ‘भारतबाट कोंकण रेलवेजको टिम पनि रेलसँगै आउँदै छन् । रेलको कोच (बोगी) बनाउने इन्टेरियल कोच फ्याक्ट्रीका प्राविधिक टिमले नै रेल गुडाएर ल्याउँदै छन् ।’

रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग रेलको दुई सेट खरिद गरेको हो । नेपाल रेलवेका जनकपुर साइटका इन्जिनियर विनोद ओझाले भने, ‘भारतको जयनगरबाट नेपाल प्रवेश गर्ने रेलको दुवै सेट जनकपुर आएर फेरि जयनगर नै फर्किने छ ।’ उनका अनुसार जनकपुरको प्लेटफर्मसम्म आएर जयनगर फर्किने रेलका दुवै सेटलाई कहाँ पार्किङ गर्ने भन्ने निधो हुनै बाँकी छ । जयनगर, इनर्वा, खजुरी र कुर्थासमेत चार ठाउँमा पार्किङ स्थल रहेकाले प्राविधिकले उपयुक्त ठहर गरेका ठाउँमा राखिने बताए । ट्रायलका लागि शुक्रबार जनकपुर आएर फर्किने रेल कहिलेदेखि नियमित सञ्चालन गर्ने भन्ने मिति पनि टुंगो गर्न बाँकी नै छ । नेपाल रेलवेका अधिकारीहरूका अनुसार सबै चाँजोपाँजो मिलेमा एक महिनाभित्रै नियमित सेवा थालिनेछ ।

भारतकै लगानीमा जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्र्याक तयार भएको पनि दुई वर्ष नाघेको छ । शुक्रबार नेपाल भित्रिने रेल हाल जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुनेछ । कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि दूरीमा भने रेलवेको लिंक ओछ्याउने काम जारी छ । भारतमा ब्रिटिस शासन रहेका बेला जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म रेलवेको न्यारोगेज ट्र्याक निर्माण गरिएको थियो । भारत सरकारले त्यही न्यारोगेज रुटमा ब्रोडगेजको निर्माण गरिदिएको छ ।

भारतीय कम्पनीसँग नेपालले खरिद गरेको रेलको दुवै सेट आधुनिक छ । रेलवेका इन्जिनियर विनोद ओझाका अनुसार नेपालले खरिद गरेको डेमो ट्रेन सेट हो । यो डिजेल र विद्युत् दुवैबाट चल्छ । रेलको एउटा सेटमा इन्जिनसहित ५ वटा बोगी छ ।

 

चारवटा बोगी (कोच) मध्ये एउटा एसी कोच र ३ वटा जेनरल बोगी हो । एउटा सेटमा भने इन्जिन बोगीमा पनि यात्रु राख्न मिल्ने सिट छ । इन्जिन रहेको डिब्बालाई भने नेपालको राष्ट्रिय झन्डाको रङ रातो र नीलो रङले पोतिएको छ । इन्जिनियर ओझाका अनुसार पाँचवटै बोगीमा १ हजार ३ सय यात्रु अट्ने क्षमताको छ । रेलवे विभागले रेल सञ्चालनका लागि यसै साता प्राविधिकसहित कर्मचारी भर्नाको विज्ञापन निकालेको छ । प्राविधिकसहित १ सय २९ जना कर्मचारी भर्नाका लागि रेलवेले सूचना प्रकाशन गरेको छ ।

मुलुकमै रेलको यात्रालाई ‘सपना’ ठानिए पनि नेपालमा काठ र ढुंगा ओसार्नका लागि न्यारोगेजको दुईवटा रेलसेवा थियो । एउटा, भारतको जयनगरदेखि जनकपुर हुँदै बिजलापुरसम्म र दोस्रो भीमनगरदेखि कोसी नदीछेउ हुँदै सुनसरीको चतरासम्म रेल गुड्थ्यो । महोत्तरीको बिजलापुरको जंगलबाट काठ र चतरानजिकको फुस्रेबाट ढुंगा ओसार्न रेल कुदाइएको थियो । भारतमा शासन गरिरहेको तत्कालीन इस्ट–इन्डिया कम्पनीले बनाइदिएका दुवै रेलमार्गमा झुन्डिएर यात्रा गर्नेहरू पनि थिए ।

छिमेकी देशहरू भारत र चीनमा रेल यातायातको विशाल सञ्जाल छ । रेल चढ्नकै लागि पनि छिमेकी देशको यात्रा गर्ने नेपाली धेरै छन् । तर, अब यो सपना नेपालमै पूरा हुँदै छ । तस्बिरहरुः कुन्दन झाको फेसबुकबाट साभार गरिएको भन्दै कान्तिपुरले यो समाचार लेखेको छ । 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close