कविता- बिरामी मान्छे

दिपक महत
ती मान्छेहरु जो सधै बिरामी रहे
तर अहँ वास्तविक रोगले गलेर होइन
कतै दुर्घटनामा परेर होइन
फगत रतन्धोले छोपिएका नयन
अहंकारको दम्भले जेलिएपछि
लालसाले बनेका
बिरामी मान्छे ।
मेसिनबाट श्वास लिइरहेका
बाँच्ने आशमा बेडमा पल्टिरहेका
ति पो खास बिरामी
स्वस्थ्य हुदाँहुदै चेत थला परेका
अस्पताल नगई मिठा वचनले
समाज चुसिरहेका
बिरामी मान्छे ।
हेर्दा खाइलाग्दा देखिएका
दरिद्रताको असली पहिचान लुकाएका
गरिब, असहाय र निमुखालाई
सुइले भन्दा बढि खोच्ने ति
वर्षोदेखी जरा गाडेर बसेका
समाजका एलिट
बिरामी मान्छे ।
लेखक महतको यो कविता स्वास्थ्यखबर पत्रिकाबाट साभार गरिएको हो -सम्पादक
कमेन्ट गर्नुहोस !