कविता– आन्दोलन !

दिपक महत
आन्दोलन के–के को लागि गर्छों हामी
विषय अनेक छन् तर माध्यम एउटै
विकास, समानता, अन्याय, भष्ट्राचार
खातिर जे सुकैको लागि भएनी
नेपाली हुनु आन्दोलनको पर्याय हुनु हो
हामी आन्दोलनमै सरिक भएनौं भने
के नेपाल, के नेपाली !
आज राजधानीको लागि आन्दोलन छ
हिजो बलात्कारबिरुद्ध
अस्ति गोविन्द केसीको समर्थनमा
र यस्तै आन्दोलन अझै चलिरहनेछ
भोली, पर्सि र लगातार
यसै गरी चिच्चाएर स्वर फुकेनौं भने
के नेपाल, के नेपाली !
सबैतिर कोराना संक्रमण छ
त्यसको सवाल हामीमा के छ
अहँ, रत्तिभर केही छैन
त्यहि भएर सबै विषयको सार एकैपटक
पोख्नु छ– ठूलो स्वरमा, चर्को भाषणमा
त्यति नि गर्ने ल्याकत गुमायौं भने
के नेपाल, के नेपाली !
यहाँ सबथोक छ, के छैन
जनतालाई सडकमा उतार्नै पर्ने
हाम्रो खै कुन मनस्थिति छ
सुन्ने कान र हेर्ने आँखा मन्ध छन्
यहि विवशताले सबैले सडक खोज्नैपर्छ
त्यति पनि गर्न खुसी नबन्ने हो भने
के नेपाल, के नेपाली !
यहाँ सबका लागि आन्दोलन जरुर छ
हामी व्यवस्थाको रापमा परेयौं या
विधि र थितिको जन्जिरमा
न्यायको तराजुमा सजिलै केही हुन्न यहाँ
ठूलो स्वरमा आवाज तरगिंत पार्नेपर्छ
यत्ति नि बाध्यतामा फसेनौं भने
के नेपाल, के नेपाली !
कमेन्ट गर्नुहोस !