सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता भाँडिएको छ 

बिहीबार सहमतिको प्रारम्भिक मस्यौदा तयार पारे पनि सरकार र डा. गोविन्द केसी पक्षबीच शुक्रबार वार्ता भाँडिएको छ । सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता विनानिष्कर्ष टुंगिएको डा. केसी पक्षघर वार्ता टोलीको भनाइ छ । तर, सरकारी वार्ता टोलीका तर्फबाट भने शुक्रबार राति अबेर कुनै प्रतिक्रिया जनाइएन ।

दिनभर सरकारी टोलीले वार्ताबारे कुनै तयारी नगरेपछि आक्रोशित चिकित्सकले आन्दोलन सुरु गर्ने चेतावनी दिएका थिए । त्यसपछि सरकारले राति ९ बजे सिंहदरबारमा वार्ताका लागि केसी पक्षलाई बोलाएको थियो । तर, राति ११ बजेसम्म चलेको वार्तामा सहमति भने जुट्न सकेन ।

बिहीबार तयार सहमतिको प्रारम्भिक मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पठाइएको थियो । प्रधानमन्त्री ओलीले अध्ययन गरेपछि शुक्रबार औपचारिक सहमति गर्ने वार्ता टोलीको गृहकार्य थियो । तर, सहमति हुनुको साटो परिस्थिति झन् बिग्रिएको छ । डा. केसीको अनशन २७औँ दिनमा छ ।

केसीपक्षीय वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले सरकारले नतिजामुखी वार्ता नचाहेको आरोप लगाए । उनले भने, ‘डा. केसीका तर्फबाट गठित वार्ता टोली सरकार छलछामपूर्वक अनिश्चित कालसम्म वार्ता लम्ब्याएर अनशनरत डा. केसीको ज्यान गम्भीर जोखिममा परोस् भन्ने चाहन्छ भन्ने हाम्रो निष्कर्षमा पुगेको छ ।’

बिहीबारको सहमतिबाट सरकार पछि हटेपछि वार्ता निष्कर्षविहीन भएको डा. क्षेत्रीको भनाइ छ । सरकारी टोलीले बिहीबारको सहमतिअनुसार काम गर्न नसक्ने जानकारी शुक्रबार रातिको वार्तामा आफूहरूलाई दिएको उनले बताए । डा. क्षेत्रीका अनुसार सरकारी वार्ता टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग सम्पर्क नभएको भन्दै केही निर्णय लिन नसक्ने बताएको थियो ।

उनले सरकारी रवैयाविरुद्ध थप सशक्त आन्दोलनका कार्यक्रम ल्याउने र आन्दोलनबाट हुने असहज परिस्थितिको जिम्मेवार सरकार र मुख्यगरी शिक्षामन्त्री पोखरेल हुनुपर्ने बताए । उनले अन्तिम समयमा आएर मन्त्री पोखरेल आफ्नै वार्ता टोलीसँग सम्पर्कविहीन भई बदनियत र दुराशय देखाएको आरोप लगाए । नयाँ पत्रिका बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close