आमाद्वारा तीन सन्तानको हत्या

काठमाण्डौःगत शनिबार बिहान अष्ट्रियावासी नेपाली एवम् अष्ट्रियनहरूका लागि एक कहालीलाग्दो समाचार बाहिर आयो । समाचारमा जनाइएको विषय थियो– एक नेपाली महिलाले आफ्नै तीन नाबालक सन्तानको हत्या गरिन् ।

अष्ट्रियाबाट प्रकाशित हुने हरेकजसो पत्रपत्रिकाको हेडलाइन नै क्रुर आमाले आफ्ना कलिला नानीहरूको हत्या गरेको स्वीकारोक्तिका साथ उनी आफैले प्रहरीलाई फोन गरी जानकारी दिएको विषय थियो ।

अभियुक्त महिलाले भियना प्रहरीलार्ई बिहान ५ः२० बजे फोन गर्दै ‘मैले मेरा बच्चाहरू मारिसकेँ, अब म पनि मर्दै छु’ भनेकी थिइन् । उक्त फोनपश्चात अष्ट्रियन प्रहरीको टोली, रेस्क्यु डाक्टरका साथै फरेन्सिक विज्ञ चिकित्सक समेतको समूह घटनास्थलमा पुगेको, त्यसमध्ये ८ महिनाको बालक र अर्को ३ वर्षकी बालिकालाई बचाउन सक्ने कुनै आधार नदेखिएको तर ९ वर्षकी बालिकाको शरीरमा ताप रहेको पाउँदा डाक्टरहरूको समूहले अस्पताल लगेको र बाटोबाट अस्पतालसम्म अनि अस्पतालमा एक घण्टाको प्रयास गर्दा पनि बचाऊन नसकिएको सम्बन्धित फरेन्सिक विज्ञलाई उद्धृत गर्दै अष्ट्रियन प्रहरीले जानकारी दिएको थियो ।

फरेन्सिक रिपोर्टमा पनि स्वास–प्रस्वासको कठिनाइका कारण बच्चाहरूको मृत्यु भएको खुलाइएको अष्ट्रियन प्रहरीले जानकारी दिएको छ । अभियुक्त महिलाको हातको नाडी सामान्य मर्केको भए पनि बाँकी त्यस्तो हानी हुने खालको कुनै क्षति नभएको पनि जानकारी दिइएको छ । अभियुक्त महिलाले स्वीकार गरिसकेको विषयचाहिँ सबै बच्चालाई निदाएको समयमा सिरानी प्रयोग गरी घाँटी थिची हत्या गरेको भन्ने रहेको छ ।

यसैबीच घटना र विचारले ‘अष्ट्रियन संघीय प्रहरी भियना’सँग सम्पर्क गरी घटनाको यथार्थबारे जानकारी लिन कोसिस गरेको थियो । यस विषयमा भियना प्रहरीसँग जानकारी लिन त्यति सहज भएन । घटनाको गम्भीरतालाई हेर्दै टेलिफोनमा कुरा गर्न नसक्ने जानकारी दिएको प्रहरीले इमेलमार्फत जिज्ञासा पठाएपछि भेट गर्नका लागि समय दियो ।

प्रहरी प्रवक्ताले बताएअनुसारे हत्या स्वीकार गरिसकेकी महिलालाई प्रहरी कस्टडीमा राखिएको तथा प्रहरीको कार्यक्षेत्रमा पर्ने विषयहरूमा सोधपुछ गरिसकिएको, जसमा अभियुक्तले पहिला धेरै नबोलेको तर पछि दोभासेको माध्यमबाट सरकारी वकिलको रोहबरमा सोधिएका प्रश्नका जवाफ दिएकी थिइन् ।

सम्पूर्ण विषयहरू बाहिर आइनसके पनि ती महिलामा मानसिक समस्या हुन सक्ने आँकलन गरिएको आधारमा प्रहरीले मानसिक जाँचको ब्यवस्थापछि सम्पूर्ण बयान लिएर अदालतमा पेश गरिने जानकारी दियो । कुराकानीको अन्त्यमा प्रहरी प्रवक्ताको समूहका एक सदस्य कन्ट्रोल इन्सपेक्टर मार्कुस डित्रिचले सम्पूर्ण प्रक्रिया सरकारी वकिलमा पुगिसकेको जानकारी दिँदै आज (२० अक्टोबर) बाट यो केससँग सम्बन्धित सम्पूर्ण प्रश्न र काम–कारवाही स्टेटआन्वाल्ट ९सरकारी वकिल०ले गर्ने र कुनै प्रश्न भएको खण्डमा सरकारी वकिलको कार्यालयमै सम्पर्क गरी जानकारी लिन सकिने बताए ।

यसैबीच नेपाली राजदूतावास भियनाका द्वित्तिय सचिव धनन्जय मेहेतासँग सम्पर्क गरी यस मामलाबारे नियोगले के–कति जानकारी राखेको छ र आफ्नो तर्फबाट कुनै प्रक्रिया अघि बढएको छ कि भन्ने जिज्ञासा राख्दा मेहेताले दुतावास भियना प्रहरीसँग सम्पर्कमा रहेको र मामलाबारे सम्पूर्ण जानकारी प्राप्त भैसकेपछि मेडियालाई जानकारी दिइने बताए । तर उनले कस्तो सम्पर्कमा रहेको तथा अभियुक्तको अवस्थाको बारेमा कुनै जानकारी तत्काल दिन नसकिने जवाफ दिए ।

अभियुक्त महिलाले गम्भीर अपराध स्विकार गरिसकेको कारण पनि राजदूतावासले ज्यादा जानकारी हासिल गर्न नखोजेको र पर्याप्त जानकारीबिना मेहेताले खुलेर कुरा गर्न नखोजेको आभास उनको प्रस्तुतिले दिलाइरहेको थियो ।

प्राप्त विवरणअनुसार अभियुक्त महिलाका श्रीमान–श्रीमतीबीच करिव दुई साताअघि झगडा परेपश्चात ती दम्पतिले घरमा प्रहरी बोलाएका थिए । अष्ट्रियन कानुनले दिएको निर्देशअनुरुप प्रहरीले पनि झगडा अरु नबढोस् भन्ने हेतुले श्रीमानलाई दुई हप्ता घरको निश्चित किलोमिटर दूरी परिधिमा आउन नपाउने निर्देशनसहितको पत्र थमाएको देखियो । उक्त पत्रको मिति सकिन केही दिन बाँकी रहँदा नै महिलाबाट उक्त जघन्य हत्या भएको बुझिएको छ ।

उक्त पत्र प्राप्तिपछि श्रीमान् तत्काल घर छोडेर बाहिरिए पनि यस अवधिमा श्रीमानले आफ्नो नौ वर्षकी छोरीलाई स्कुलबाट लिएर घरको ढोकासम्म पुगेको र फर्कंदा ८ महिनाको छोराका लागि डाइपर पेपर लिएर आएको छिमेकीलाई उद्धृत गर्दै अष्ट्रियन मिडियाहरुले जनाएका छन् ।

घटनाको विषयमा पीडित अर्थात् अभियुक्तका श्रीमानलाई प्रहरीले उनले काम गरिरहेको ठाउँमा गएर जानकारी दिएको तथा सामान्य सोधपुछ मात्र गरेको प्रहरीको भनाई छ ।

करिव १७ वर्षदेखि अष्ट्रियाको भियनामा बसोबास गर्दै आएका गुल्मी घर भएका अर्याल थरका पुरुषले बुटबल घर भएकी भट्टराई थरकी ती महिलालाई करिव १० वर्षअगाडी विद्यार्थी भिषामा परिवारसँगको सहमतिमा बोलाई विवाह गरेका थिए ।

विवाहको केही वर्ष सम्बन्ध सामान्य रहे पनि केही वर्षयता श्रीमान–श्रीमतीबीच सामान्य ठाकठुक भएको सन्दर्भ भियनामा चर्चाको विषय बनेको यहाँ बसोबास गर्नेहरू बताउँछन् । तथापि, घरको झगडा घरमै मिल्ने भन्दै यस विषयलाई कसैले गम्भीरतापूर्वक नलिएको तथा ती महिला यो हदसम्म पुग्न सक्छिन् भन्ने कसैले अनुमान नगरेको स्थानीयवासीको भनाइ छ ।

अभियुक्त महिलाले महिना दिनअगाडि अष्ट्रियामा महिलाहरूले खोलेको गैरआवासीय नेपाली संघसम्बद्ध महिला फोरम नामक सञ्जालको ग्रुपमा श्रीमानलाई विभिन्न आरोप लगाएर सहयोग मागेको भन्ने विषयहरू यतिबेला बाहिर आइरहेको छ ।

यसमा ती अभियुक्तलाई कसले के सल्लाह दिए, अभियुक्तसँग कसले कति सम्पर्क गरेर के भने विषयमा पनि सरकारी वकिलले अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । तर प्रहरी अनुसन्धानको आजसम्मको निष्कर्ष छ कि यो क्रुर घटनामा दोश्रो व्यक्तिको संलग्नता देखिएको छैन ।घटना र विचारबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close