भानु जयन्तीमा १ दर्जन बढी स्रष्टा सम्मानित

२०७ औं भानुजयन्तीको अवसरमा विराटनगरमा १३ जना स्रष्टालाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले साहित्य, कलाको संरक्षण र विकासका लागि प्रदेश सरकारले एकेडेमी निर्माणको कार्य सुरु गरेको बताए।
विगतमा यस क्षेत्रका स्रष्टाको खोजी, पहिचान सम्मान गर्न नसकेको बताएका मुख्यमन्त्री राईले प्रदेश सरकारले दत्तचित्त भएर यस क्षेत्रको आवश्यक संरक्षणमा जोड दिने प्रस्टाए । उनले साहित्य, कला, संस्कृतिको संरक्षण हुन नसके नेपालीपन विलाएर जाने बताए।
कार्यक्रममा प्रदेश सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मानित गरेको थियो । सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन।
१ लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट ईलामका स्रष्टा डा. नवलकिशोर राई सम्मानित भए। उनले सम्मानमा प्राप्त राशी मध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार कोरोना उपचार कोषलाई हस्तान्तरण गरेको घोषणा गरे । त्यसैगरी भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनु भएका छन्।
ललितकला तर्फ अनुराधा थापा–मोरङ, साहित्य तर्फ धनकुटाका उमानाथ घिमिरे‘सागर’, मोरङका कविराज पोखरेल, झापाका मुनाराज शेर्मा, खोटाङकी पञ्चकुमारी परियार, पाँचथरका प्रेम ओझा, सुनसरीका शिवनारायण पण्डित‘सिंगल’ सम्मानित भए। त्यसैगरि,साहित्य र कलातर्फ सोलुका डीवी किराँती, रंगकलातर्फ झापाकी कविता नेपाल, चलचित्रकर्मीतर्फ मोरङका केशव रायमाझी , नृत्यकलातर्फ मोरङकी मायाँ पौडेल र गीतसंगीततर्फ मोरङकै वीरध्वज शिवा सम्मानित भए ।
कमेन्ट गर्नुहोस !