‘कुर्सी यथावत् छ’

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहलाई विस्तारै कार्यकर्ताले छाड्ने बताएका छन्। आइतबार राजधानीमा युवा विद्यार्थी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रतिनिधिसभा विघटनपछिको विरोधमा छुट्टै समूह बनाएर आन्दोलन गरिरहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका नेतालाई लक्षित गर्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले यस्तो विचार व्यक्त गरेका हुन्।
नेता दाहाल, नेपाललगायतले ‘हामी यता छौँ’ लेखिएको ब्यानर छातीमा टाँसेर माइतीघर मण्डलामा गरेको विरोधप्रति व्यंग्य गर्दै उनले नेताहरूलाई पार्टीमा फर्किन आग्रह गरे। ‘आज दुनियाँलाई थाहा भो, आजकल तपाईंहरू माइतीघर मण्डलामा हुनुहुन्छ, मण्डलामा किन बस्नुहुन्छ ? यत्रो महान् पार्टी छ आउनुहोस्’, ओलीले भने, ‘मरेकालाई उपियाँले छोडेजस्तो कार्यकर्ताले तपाईंहरूलाई छोड्नेछन्।’
उनले दोहोर्याउँदै भने, ‘तपाईंहरूका छटपटी केमा छन्, सबैलाई थाहा छ। त्यस्ता छटपटी छोडेर आउनुहोस्, तपाईंहरूका कुर्सी यथावत् राखिएको छ। हामीलाई थाहा छ, तपाईंहरूलाई कुर्सीको पीर छ। कुर्सी यथावत् राखिएको छ।’
यसैबीच अध्यक्ष ओलीले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुर्गन्ध फैलाएकाले प्रवक्ताको जिम्मेवारीबाट हटाएको बताएका छन्। ‘प्रवक्ता भनेर तोक्दिएको थियो। प्रवक्ताले साह्रै बढी छ्यासछ्यास गरेर दुर्गन्ध फैलाउने काम गरिराख्नुभयो’, उनले भने, ‘प्रवक्तालाई हटाइएको छ तर सचिवालय सदस्य कायमै राखिएको छ। नेता दाहाल कार्यकारी अध्यक्ष हुँदा उपद्रो मच्चाएकाले हटाइएको तर अध्यक्ष पद बाँकी रहेको भन्दै उनले पार्टीमा फर्किन आग्रह गरे। ‘कार्यकारी भन्ने मैले दिएको थिएँ। कार्यकारी हुँदा अन्त्यन्तै उपद्रो मच्चाउनुभयो। त्यो मैले हटाइदिएको छु। अध्यक्षको पद अझै पनि राखेकै छौं, आउनुहोस्’, दाहाललाई लक्षित गर्दै ओलीले भने। उनले वरिष्ठ नेताको पदसमेत कायमै राखेको भन्दै नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत पार्टीमा आउन आग्रह गरे। अन्नपुर्ण पोष्ट बाट
कमेन्ट गर्नुहोस !