नेकपा फुटेको पत्याएकै छैनन् देउवाले

स्वभाविक रूपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र उत्पन्न परिस्थितिलाई नजिकबाट हेरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि ओली र प्रचण्ड-माधव नेपाल दुई भिन्न समूह नेकपाभित्र क्रियाशील छन्।

यो दुइटै समूहसँग सहकार्य गर्न नहुनेमा सभापति देउवा छन्। कांग्रेसका एक शीर्ष नेताले सेतोपाटीसँग भने, ‘सभापतिले नेकपा फुटिसकेको पत्याउनु भएकै छैन।’

सभापति देउवाले पुस ७ पछि पटक-पटक बसेको केन्द्रीय कार्यसमितिमा पनि नेकपाबारे आफ्नो सटिक विश्लेषण सुनाउँदै आएका छन्। कानूनी रूपमा नेकपा सग्लै छ भन्ने देउवाको निष्कर्ष छ।वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको कदम सच्याउन तथा सडक आन्दोलनकै बलमा प्रतिनिधि सभा पुनर्स्थापना गर्ने आन्दोलनमा गइहाल्न राखेको प्रस्ताव देउवाले ढिला गरी स्वीकारेका थिए।

देउवाले परिस्थितिको मूल्यांकन गर्नुपर्ने बताइरहेका छन्।

उनीनिकट एक नेता भन्छन्, ‘केन्द्रीय समितिमा पनि सभापतिले यसबारे प्रष्ट रूपमै भन्नुभएको छ-नेकपा सग्लो छ। जबसम्म निर्वाचन आयोगबाट दुई नाम र भिन्न चिन्ह लिँदैनन् त्यसबेलासम्म नेकपा सग्लो नै रहन्छ।’

नेकपा विभाजन नभएकोले सिंगो नेकपासँग राजनीतिक रूपमा कांग्रेसको लडाइँ जारी रहनु पर्नेमा देउवा छन्।

‘नेकपा फुटेको नसोचौं,’ देउवाले आफू निकटसँग भनेका छन्, ‘जबसम्म निर्वाचन आयोगले नेकपाका दुई खेमालाई फरक चिन्ह र दलको मान्यता दिँदैन त्यसबेलासम्म फुटेको कसरी मान्ने? हामीले फुटिसकेको जसरी नै व्यवहार गर्नु हुँदैन।’

ती नेताका अनुसार सभापति देउवाले आफ्ना पार्टीका नेतालाई नेकपा फुटिसकेको ठम्याइँ नगर्न भनेका छन्।

‘नेकपा फुट्यो भनेर हामी ढुक्क नहोऔं,’ देउवालाई उद्धृत गर्दै ती नेता भन्छन्, ‘आन्तरिक द्वन्द्वमा छन्, फुट्यो भन्न कानुनी रूपमा मिल्दैन।’

व्यवहारिक रूपमा एकअर्का अध्यक्षलाई कारबाही गरेको अवस्थामा नेकपा रहेकाले फुटको संघारमा पुगेको सभापति देउवाको भनाइ छ।

‘सभापति देउवा र सिंगै कांग्रेसको सुरूदेखिकै आन्तरिक बुझाइ दुई कम्युनिष्ट पार्टी सत्ताका लागि मिलेका हुन्। लामो समय टिक्दैन भन्ने नै थियो,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘सत्ताका लागि मिलेकाहरू सत्ताकै निहूँमा अहिले द्वन्द्व गरिरहेछन्। अहिले नेकपाभित्रको झगडा सत्ता कसले चलाउने भन्ने न हो।’

सत्ताको झगडासँगै एमालेले मानेको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रले मानेको माओवादका दुई विचारलाई पार्टी एकतासँगै एक गर्न नसक्नु नै सैद्धान्तिक रूपमा नेकपाको कमजोरी भएको र त्यसले पनि झगडामा योगदान गरेको कांग्रेसी नेताहरुको तर्क छ।

‘सत्ता र सिद्दन्तको अन्तरद्वन्द्व हल गर्न नसकेको रिसमा प्रधानमन्त्रीले प्रतिनिधि सभा नै भंग गरिदिए। यही कारण नेकपामा कलह देखियो,’ एक नेताले भने।

प्रचण्ड-माधव नेपाल पक्षले कांग्रेससँग संयुक्त रूपमा ओलीका कदमविरूद्ध आन्दोलनमा जान पटक-पटक प्रस्ताव गरेको थियो। जवाफमा कांग्रेसले ‘आफ्नै संगठनको बलबुतामा’ आन्दोलनमा जाने, अरू दलसँग सहकार्य नगर्ने भनेको छ।

‘ओली भने पनि प्रचण्ड-नेपाल भने पनि उहाँहरू आखिर नेकपा नै हो। कुन गुटले आधिकारिकता पाउने भन्नेजस्ता लडाइँ त बाँकी छन्,’ ती नेता भन्छन्, ‘जसले आधिकारिकता पाए पनि नेकपा त बाँकी नै रहन्छ।’

सभापति देउवा जुनकुनै दिन कम्युनिष्टहरूले मन माझामाझ गरेर एक भइयो भन्दै हिँड्न सक्ने सम्भावना पनि देख्छन्।

‘आत्मआलोचना भन्ने शब्द घुसाएर जुनकुनै बेला नेकपाका दुई गुट एक हुन सक्ने सम्भावना छ,’ देउवालाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘विधिवत् नेकपा विभाजन भएको छैन। त्यसैले नेकपाको एक गुटसँग मिलेर अर्को गुटसँग लडाइँ लड्न सकिन्न।’

यसकारण कांग्रेस आफैं आन्दोलनमा जाने निष्कर्षमा पुगेको ती नेताले जानकारी दिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि नेकपाको कुनै एक खेमासँग मिलेर अर्को खेमाविरूद्ध आन्दोलनमा कांग्रेस नजाने बताउँछन्।

‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक छ। यो सच्चिनुपर्छ र प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ,’ शर्माले सेतोपाटीसँग भने, ‘हामीले सर्वदलीय बैठक राखेर प्रधानमन्त्रीको कदम असंवैधानिक भन्ने साझा धारणा बनायौं। तर संयुक्त संघर्षमा जानुपर्छ भन्ने छैन। पुस २५ देखि माघ ८ सम्मका संघर्षका कार्यक्रम हामीले ल्याएका छौं। वडादेखि नै सरकारविरूद्ध हामी आन्दोलन गर्छौं।’शर्माले सत्तामा रहेको नेकपासँग सडकमा अर्को नेकपासँग मिलेर लडाइँ गर्ने पक्षमा कांग्रेस नरहेको पनि प्रष्टाएका छन्।सेतोपाटी बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close