मालारानी गाउँपालिकाले न्युनतम ब्याजदरमा १० लाख सम्म कर्जा दिने

सबैको सन्देश /सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाले गाउँमै आयमूलक उद्यम गर्न चाहनेलाई कर्जा दिने भएको छ ।कृषि विकास बैंकको सहकार्यमा यो कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । जसअन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत १० लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँ सम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म, महिला उद्यमशीलता कर्जा १० लाख रुपैयाँसम्म र दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म उपलब्ध गराउने अध्यक्ष आचार्यको भनाइ छ। जसको लागि गाउँपालिकाको सिफारिस र परियोजनाको सम्भाव्यताको आधारमा कृषि विकास बैंकले कर्जा लगानी गर्नेछ। कर्जाहरुमा महिला उद्यमशीलताको हकमा हाल ३ प्रतिशत ब्याजदर तोकिएको छ भने अन्य कर्जाको हकमा ४ प्रतिशत ब्याजदर ग्राहकले तिर्नुपर्ने हुन्छ। अहिले गाउँपालिकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि देशका विभीन्न जिल्ला तथा भारत लगायत अन्य देशमा रोजगार गुमाएर आएका पालिकाका युवाहरु लाई उद्यमशीलताको विकास गर्ने संगै कोरोनाका कारण आर्थिक वृद्वीदर घट्दै गएकाले आर्थिक वृद्वीदर बढाउनको लागि यस्तो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस !