बालबालिकालाई सजाय दिनु कति उचित ?

गल्ती गर्ने समय नै बाल्यकाल हो । आमाबाबुको भाषामा बालबालिका चकचके, छुकछुके तथा बदमास हुन्छन्  तर यसो नगरी उनीहरू सक्रिय पनि हुँदैनन् । बालबालिकाको बदमासी र चकचकेपनलाई लिएर विभिन्न धारणा पाइन्छन् । एकथरीले गल्ती गरिहाले गल्ती महसुस गराउन भए पनि सजाय दिनुपर्छ भन्छन् भने अर्काथरी विशेषज्ञहरू सजाय दिनु गलत हुने बताउँछन् ।

समस्या कसरी उत्पन्न भयो पत्ता लगाउनुपर्छ 
बालबालिकालाई सजाय दिनुअघि अभिभावकले समस्या कसरी उत्पन्न भयो जानकारी लिनुपर्छ । गल्ती पत्ता लगाई उनीहरूलाई गाली गर्नुको साटो सुध्रिने मौका दिनुपर्छ । बालबालिकालाई सजाय दिनु समस्याको स्थायी समाधान होइन भन्ने कुरा अभिभावकले राम्रोसँग बुझ्नुपर्छ । गल्ती भैहाले पनि हप्काउनु, धम्क्याउनु, कुटपिट गर्नुको साटो अभिभावकले शिशुले किन यसो गर्दैछ भन्ने कारण पत्ता लगाउनुपर्छ ।अभिभावकले बालबालिकाको समस्या पत्ता लगाई विचार र भावनालाई बुझ्ने प्रयास गरेको खण्डमा उनीहरू आफै सुध्रिन्छन् । उनीहरूलाई सजायको आवश्यकता पर्दैन । बालबालिकालाई माया र विश्वास गरी उनीहरूसँग साथीको सम्बन्ध स्थापित गर्न सकेको खण्डमा बालबालिका निडर भएर आफैं आमाबाबुसँग कुराकानी गर्न सक्छन् ।
सजाय पनि अनुचित होइन

बालबालिकाले नचाहिने कुरामा जिद्दी गर्छन् र ठूलै गल्ती गर्छन् भने आवश्यक मात्रामा सजाय पनि दिनुपर्छ जसले उनीहरूलाई दोहोर्‍याएर गल्ती गर्ने अवसर दिँदैन भने अनुशासित समेत बनाउँछ । कहिलेकाहीँ गाली गरिएन भने उनीहरूलाई कहिल्यै अफ्नो गल्ती महसुस हुँदैन र थप गल्ती गर्न उत्साहित हुन्छन् । त्यति मात्र नभएर उनीहरूमा जिद्दी, भनेको नटेर्ने र आफूभन्दा ठूलालाई सम्मान नगर्ने किसिमको स्वभाव विकसित हुँदै जान्छ । राम्रो स्वभाव निर्माण र गलत कामबाट छुटकारा दिन पनि समय–समयमा उनीहरूलाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ । उनीहरूलाई सही बाटोमा ल्याउन र भविष्य निर्माणका लागि कतिपय अवस्थामा हप्काउँदा पनि फरक पर्दैन । यद्यपि त्यति धेरै सजाय दिनु पनि उचित होइन । बढी सजाय दिँदा उनीहरू सुध्रिनुको साटो बिग्रदै जान्छन् ।
विशेषज्ञहरू के भन्छन् 
बालमनोवैज्ञानिक नन्दिता शर्माका अनुसार बालबालिकालाई सजाय दिने वा नदिने भन्ने कुरा गम्भीर तथा संवेदनशील विषय हो । अभिभावकले सुरुदेखि यस्तो व्यवहार गर्दै जानुपर्छ कि सजाय दिनुपर्ने अवस्था नै नआओस् । बालबालिकाले बढी दुस्ख दिन थाले वा अनेक माग गर्न थाले भने शारीरिक सजाय दिनुको साटो उनीहरूको सुविधा कटौती गर्नु उचित हुन्छ ।बालबालिकाहरू खेलेर ढिलो घर आउँछन् वा बढी टेलिभिजनमा मात्र झुन्डिन्छन्् भने बन्देज लगाउनुपर्छ । यस्तो बेला बालबालिकालाई कुन गल्तीका कारण त्यसो गरिएको हो बताउनुपर्छ । जब बालबालिका आफ्नो गल्ती महसुस गर्दै ठीक ठाउँमा आउँछन् अब दोहोर्‍याएर यस्तो गल्ती नगर्ने चेतावनी दिँदै सजाय समाप्त गरिदिनुपर्छ।narimag

 

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close