एउटै कुकुरले टोकेका १२ मध्ये तीनको मृत्यु, तीन गम्भीर

रेबिज भ्याक्सिन लगाइसक्दा पनि मृत्यु हुन थालेपछि दोलखाको मेलुङबासी त्रासमा कुकुरले टोकेका स्थानीयलाई रेबिजको भ्याक्सिन लगाएपछि बिसेक हुनुको सट्टा तीनजनाको मृत्यु भएपछि दोलखाको मेलुङ बजारस्थित मेडिकल सञ्चालक कृष्णकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनले गुणस्तरहीन भ्याक्सिन लगाएको आरोप मृतकका आफन्त र स्थानीयको छ ।

गत २७ असारमा मेलुङ गाउँपालिका– ५, ६ र ७ नम्बर वडाका १२ जनालाई एउटै कुकुरले टोकेको थियो । उनीहरू सबैले त्यही दिन कार्कीको मेडिकलमा गएर रेबिजको भ्याक्सिन लगाएका थिए । तर, कुकुरको टोकाइबाट घाइते भएका एक बालकसहित तीनजनाको मृत्यु भएको छ । मृतक सबैमा रेबिजको संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेसम बोहराले बताए । भ्याक्सिन लगाइसक्दा पनि मृत्यु हुन थालेपछि सिंगो गाउँ नै आतंकित बनेको छ ।

भ्याक्सिन लगाइसकेपछि स्वास्थ्यमा सुधार हुनुको साटो मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले कार्कीको मेडिकलविरुद्ध आन्दोलन गर्दै आएका थिए । उनीहरूले भ्याक्सिनको गुणस्तरबारे अध्ययन गर्नुपर्ने माग गर्दै आएका छन् । प्रहरीले बुधबार मेडिकल सञ्चालक कार्कीलाई नियन्त्रणमा लिएको छ ।

स्थानीयको मागअनुसार भ्याक्सिनको अध्ययन गर्न बिहीबार पशु सेवा विभाग र काठमाडौंका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट विज्ञहरूको टोली दोलखा आइपुगेको प्रहरी प्रवक्ता बोहराले बताए । कार्कीले मेडिकलको नाम पनि नराखेको र वैधानिक रूपमा दर्तासमेत नभएको उनले बताए ।

कुकुरको टोकाइबाट घाइते भएका बैतेश्वर गाउँपालिका–६ नाम्दुका सात वर्षीय कुशल नेपालीको २८ असारमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मेलुङस्थित मामाघर आएका वेला उनलाई कुकुरले टोकेको थियो । त्यही दिन भ्याक्सिन लगाए पनि उनको स्वास्थ्य बिग्रँदै गयो । अरू कुनै रोग नभएका उनको भोलिपल्ट मृत्यु भयो ।

त्यस्तै, भ्याक्सिन लगाइसकेपछि पनि दिनानुदिन अस्वस्थ हुँदै गएपछि मेलुङ–६ तिनपिप्लेका ३० वर्षीय रामचन्द्र भण्डारी थप उपचारका लागि ललितपुरस्थित पाटन अस्पतालमा भर्ना भएका थिए । तर, बुधबार उनको मृत्यु भएको छ । प्रहरीका अनुसार कुकुरको टोकाइबाट घाइते भएका मेलुङ गाउँपालिका– ५ सुंगुरेका १५ वर्षीय सुरेश विकको पनि मृत्यु भइसकेको छ । उनीहरू तिनैजनामा रेबिजको संक्रमण पुष्टि भइसकेको प्रहरीले जनाएको छ ।

स्थानीय विश्व भण्डारीका अनुसार गाउँमा अझै नौजना कुकुरले टोकेका मानिस छन् । उनीहरूमध्ये दुईजना सिकिस्त छन् । १२ जनालाई टोक्ने कुकुरलाई भने स्थानीयले २७ असारमै मारेका थिए । मृतकका परिवार र आफन्तले पक्राउ परेका मेडिकल सञ्चालक कार्कीविरुद्ध जाहेरी दिने तयारी गरिरहेको मृतक रामचन्द्रका भाइ हरिशचन्द्रले बताए ।

गाउँपालिकाले रेबिजविरुद्धको अभियान चलाउन स्वास्थ्य टोली खटाउने रेबिजविरुद्धको भ्याक्सिन लगाइसक्दा पनि मृत्यु हुन थालेपछि सिंगो गाउँ नै आतंकित बनेको छ । मेलुङ गाउँपालिकाका तीनवटा वडासहित आसपासका क्षेत्रमा रेबिज फैलन सक्ने भन्दै गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङ र उपचारका लागि समुदायमा स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ ।

पशु सेवा विभाग र टेकु अस्पतालबाट पाँच सय भ्याक्सिनसहित विज्ञहरूको टोली पनि दोलखा पुगेको छ । कुकुरको टोकाइबाट घाइते भएकाको कन्ट्याक्टमा देखिएका र शंका लागेका सबै स्थानीयलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउने तयारी भइरहेको मेलुङ गाउँपालिका कार्यालयले जनाएको छ । त्यस्तै, गाउँका सबै कुकुरलाई पनि भ्याक्सिन लगाउने तयारी छ ।आजको नयाँ पत्रिका बाट

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close