अर्घाखाँचीमा एक साताका लागि निषेधाज्ञा थपियो

सागर महत भदौ १७,अर्घाखाँची ।
अर्घाखाँचीमा भदौ २४ गतेसम्म एक साताका लागि निषेधाज्ञा थपिएको छ । जिल्ला स्तरीय कोभिड—१९ संकट व्यवस्थापन समितीको बैठकले भाद्र ३ गतेदेखि जारी निषेधाज्ञाको दोस्रो चरणको समय अवधी आज राती १२ बजे सकिँदै छ ।
त्यसलाई निरन्तरता दिँदै आगामी बुधबार राती १२ बजेसम्म निषेधाज्ञा गरिने निर्णय भएको हो ।
जिल्लामा कोरोना संक्रमण समुदायसम्म पुगेको भन्दै बैठकले जिल्लाबासीलाई कोभिड–१९ को महामारीबाट सुरक्षित राख्न पुनः निषेधाज्ञा गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।विकास निर्माणका काम लाई भने सामाजिक दुरी कायम गरी संचालन गर्ने निर्णय भएको बताइएको छ। यस्तै निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन् ।
तरकारी, खाद्य पसल दिउँसो साढे ३ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने छन् भने डेरी पसल बिहान ६ देखि ८ बजेसम्म खोल्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको जनाइएको छ।
हाल जिल्लामा समुदायस्तरका कोरोना संक्रमित सहित सक्रिय कोरोना संक्रमित संख्या २५ रहेको छ।
कमेन्ट गर्नुहोस !