अर्घाखाँचीमा २० हजार बढीले जनसंख्या घट्यो,प्रमुख कारण बसाइँसराई

अर्घाखाँची । अर्घाखाँचीमा शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीका कारण बसाइँसराई हुने क्रम बढेको छ । बसाइँसराइले गाउँका घरमा ताला लागेको छ भने खेतीयोग्य जमिन बाँझो हुँदै गएको हो । योसँगै अर्घाखाँचीमा पछिल्लो १० वर्षमा २० हजार ५ सय ४६ ले जनसंख्या घटेको छ । जनसंख्या घट्नुको मुख्य कारण बढ्दो बसाइँसराइ र कम जन्मदरलाई मानिएको छ । स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा गएका युवाले भित्र्याएको रेमिट्यान्सले यतिबेला पहाड छाडेर तराई झर्नेको लर्को बढ्दो छ ।

पुरानो पुस्ताले दैनिकी चलाउने गरेको खेतबारी हिजोआज बाँझो जमिनमा रूपान्तरण भएका छन् भने बसाइँसराईले घरमा ताला लागेका छन् । अर्घाखाँची टोलटोलमा सडक सञ्जाल जोडिने जिल्लाका रूपमा चिनिए पनि अव्यवस्थित शिक्षा, स्वास्थ्य र रोजगारीले नै बसाइँसराईको दर बढेको शीतगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताउनुभयो ।

अर्घाखाँचीमा जन्मदरमा पनि कमी देखिएको छ । यहाँ अधिकांशले दुई सन्तान मात्र जन्माउने गरेको पाइन्छ । यसले पनि जन्मदर घटेको हो । २०६८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । २०७९ मा घटेर १ लाख ७७ हजार ८६ रहेको छ ।

गाउँमा जंगली जनावरको आतंकले पनि कृषक चिन्तित छन् । खेतबारीमा लगाएको तरकारी तथा अन्नबाली जंगली जनावरले खान थालेपछि मेहेनत खेर गएकाले पनि बसाइँसराईको बाटो रोज्नु एउटा कारण भएको पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताउनुभयो । शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने र वन्यजन्तुको नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो पाँच वर्षमा जिल्लाका ६ वटा स्थानीय तहमध्ये ३ नगरपालिका र ३ गाउँपालिकाले अधिकांश बजेट सडक सञ्जालमा लगाएको पाइन्छ । स्वास्थ्य, शिक्षा, रोजगार र उत्पादनमुखी कृषि कार्यक्रम लागू नभएसम्म यहाँको बसाइँसराई रोक्न निकै चुनौतीपूर्ण देखिने स्थानीयको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close