स्याङ्जाको पहिरोमा परेर मृत्यु भएका नौ जनाको राम्दीमा सामूहिक दाहसंस्कार

दागबत्ती दिने परिवारभित्रैको कोही पनि भएनन्, गाउँ नै शोकमा

बिहीबार बिहान ६ बजे खसेको पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम ९राम्दी मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६ महीनाका बालकलाई १९ वर्षीया आमा विनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए । सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए ।

पहिरोले घर पुरिँदा स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीका एकैपरिवारका नौजनाको मृत्यु भएको थियो । पहिरोमा घर पुरिँदा तमादीकी ६० वर्षीया सानी नेपाली र उनको परिवारका आठजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वृद्धा सानीसँगै ४८ वर्षीया माया, ३० वर्षीय दीपक, २८ वर्षीया उमाकला, १९ वर्षीय विनिता, २१ वर्षीय कुलदीप, १४ वर्षीय विक्रम, नौ वर्षीय विवश र ६ महिने समीर रहेका छन् । दीपक, कुलदीप, विक्रम र विवश मायाका छोराछोरी र विनिता बुहारी हुन् । पाल्पा घर भएकी मायाकी छोरी उमाकला बुधबार माइतीघर आएकी थिइन् । पहिरोमा ज्यान गएका शिशु कुलदीप विनिताका छोरा हुन् ।

अध्यक्ष रनपालले भने ुपहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई गह्रौं प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँु ।

एकै परिवारका नौ जनाको एकैपटक दाहसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भावविह्वल भएका थिए । घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नयाँ पत्रिका बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close