एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता

काबुल । इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् । तालिवान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको संख्या पुष्टि गर्दै सबैलाई पुनस्र्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ । ‘जनवरी महिनामा पाकिस्तान, इरान र टर्कीबाट ९६ हजार ४९० अफगानी आप्रवासी स्वदेश फिर्ता भएका छन् । उनीहरूको व्यवस्थापनका लागि हामीसँग समितिहरू छन् । सीमामा उनीहरूलाई यात्रा भत्ता, खाना र गैरखाद्य सहायता र जाडोका लुगाहरू दिई उनीहरूको गाउँ तथा शहरमा जाने व्यवस्था गर्नेगरी क्षेत्रीय प्रशासनलाई जिम्मा लगाइने गरेको छ । प्रत्येक परिवारलाई १० हजार नगद सहयोग प्रदान गरिएको छ’, शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका उपमन्त्री अब्दुल रहमान रसिदले भन्नुभयो ।

साथै, स्वदेश फर्केका केही आप्रवासीले तालिवान सरकारसँग उनीहरूलाई रोजगारीको अवसर उपलब्ध गराउन अनुरोध गरिरहेका छन् । पायिन्दाले पाकिस्तानबाट आफ्नो सात सदस्यीय परिवारसँग स्वदेश फर्केपछि आप्रवासनका चुनौतीबारे पायिन्दा थर बताउने अफगान नागरिकले भन्नुभयो, ‘तिनीहरूले हाम्रो पैसा लुट्थे । हामी अफगानिस्तानबाट पाकिस्तान पुगेका थियौँ त्यसैले स्वतन्त्र रूपमा यात्रा गर्न वा स्वास्थ्य परीक्षणका लागि राम्रो चिकित्सकलाई भेट्न असमर्थ थियौं ।’ उहाँले भन्नुभयो, ‘हालैका वर्षमा शत्रुताका कारण लाखौं मानिसहरू देश (अफगानिस्तान) छोड्न बाध्य भएका छन् ।’

विदेश रहँदाको अनुभव सुनाउँदै हालै इरानबाट स्वदेश फर्किएका नाजानिनले भन्नुभयो, ‘उनीहरूले पहिले मेरा श्रीमानलाई लगे । पछि उहाँले फोन गरेर आफूलाई इरानी जेलमा राखिएको बताउनुभयो । चार दिनपछि म उहाँलाई भेट्न गएँ । इरानी प्रशासनले हामीलाई देश छोड्न चेतावनी दिएको रहेछ । श्रीमानले हामीलाई तीन दिनको समय दिनुहोस्, हामी यहाँबाट जान्छौं भन्नुभयो र स्वदेश फर्कियौं ।’

उहाँले थप्नुभयो, ‘तीन दिनपछि हामी स्वदेश फर्किएका छौं । तर, यहाँ हाम्रो बास र खाने प्रबन्ध मिलाउन कठिन भइरहेको छ किनकि दुव्र्यवहार हुनसक्ने डरमा हामी आफ्नो जन्मस्थान पुग्न सकेका छैनौं । सरकारले रोजगारीको अवसर प्रदान गर्नुपर्छ ताकि कोही पनि फेरि इरान फर्कन नपरोस् र हामी सबैले आफ्नो मातृभूमिमा आफ्नो प्रगति गर्न सकौं’, सोही समूहमा इरानबाट स्वदेश फिर्ता भएका खैरुदिनले टोलोन्यूजलाई बताउनुभयो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले पाकिस्तानबाट जबर्जस्ती देश निकाला गरिएका अफगानी आप्रवासीहरूको दूर्दशाको बारेमा चिन्ता व्यक्त गरेको छ । उनीहरू केवल बाँच्न पैसा सापटी लिने र उधारोमा सामान किन्ने गरिरहेका छन् ।

विकराल अवस्थालाई उजागर गर्दै डब्लुएफपीले अफगानी आप्रवासीहरू कुनै सुविधा वा सहयोगबाट वञ्चित भएर बाँच्न ऋण लिनैपर्ने अवस्था रहेको संगठनको वेबसाइटले देश निकाला गरिएका अधिकांश आप्रवासीहरू हाल अन्यौलको अवस्थामा रहेको कुरालाई जोड दिएको छ ।

विश्व खाद्य कार्यक्रमले खाद्य सहायताका लागि एक महत्वपूर्ण आवश्यकतामाथि जोड दिँदै केही फर्केका आप्रवासी भोकमरीसँग जुधिरहेका बताएको छ । अफगानिस्तानमा आप्रवासी समस्या र खाद्य सुरक्षा गम्भीर बनेको डब्ल्यूएफपीले जनाएको छ । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (यूएनएचसीआर)का अनुसार छिमेकी देशहरूबाट अफगान शरणार्थीहरूको निरन्तर फिर्ती बढ्दो मुद्रास्फीति र शरण दिइएका देशहरूमा रोजगारीका अवसरहरूको अभावसँग सम्बन्धित छ ।

हाल इरान, टर्की र पाकिस्तानमा करिब ६० लाख अफगानी आप्रवासी रहेको बताइएको छ । सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएपछि हजारौं अफगानीहरू उत्पीडन र ज्यान मार्ने धम्कीको डरले अफगानिस्तानबाट भागेर छिमेकी देशहरुमा गएका थिए । यीमध्ये अधिकांश मानिस अवैध च्यानलमार्फत ती मुलुकमा प्रवेश गरेकोमा अहिले गम्भीर समस्याको सामना गरिरहेका छन् । रासस/एएनआई ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close