बालुवाटारमा घम्साघम्सी : प्रस्तावमाथि छलफल हुँदैन – ओली, छलफल नै हुन्न भन्ने तपाईं को हो ? – प्रचण्ड

मगलवार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठक बस्ने कि नबस्ने, कहाँ बस्ने र प्रस्तावमाथि छलफल हुने कि नहुने भन्नेमै भनाभन भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपराह्न १ बजे बस्ने तय गरिएको बैठकलाई सुरक्षाका कारण देखाउँदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले महासचिव विष्णु पौडेलमार्फत बालुवाटारमै बस्ने प्रस्ताव गरेका थिए ।प्रचण्डले बालुवाटारमा कुनै पनि हालतमा बैठक नबस्ने अडान लिए । त्यसलगत्तै ओलीले महासचिव पौडेलमार्फत अर्को सन्देश पठाए । ‘मेरो ज्यानको सुरक्षाको कुरा हो, बैठक धुम्बाराहीमै बस्ने हो भने म आउन सक्दिन,’ ओलीको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो ।त्यसपछि प्रचण्डलगायतका बहुमत पक्षधर नेताहरू ‘ल ठीकै छ त्यसो भए’ भन्दै बालुवाटार आउन तयार भएका थिए


सचिवालय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यही प्रसंग खोतलेका थिए । ‘पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठक बालुवाटारमा बसेर हुँदैन,’ प्रचण्डले बैठकमा भने, ‘अबदेखि पार्टी कार्यालय मै बैठक बस्छ ।जवाफमा ओलीले सचिवालय बैठक नै जरुरी नभएको प्रतिक्रिया दिएको स्रोतको दाबी छ । तर के कस्तो सुरक्षा खतरा भएको हो भन्ने ओलीले जवाफ दिएनन् । सचिवालयका सदस्यहरूले पनि सुरक्षा खतराका बारेमा केही नसोधेको स्रोत बताउँछ ।बैठकमा ओलीले सचिवालयमा प्रस्तुत कुनै पनि दस्तावेजमा छलफल आवश्यक नै नरहेको र बैठक बस्नु पनि जरुरी नभएको बताएपछि प्रचण्डले अन्य सचिवालय सदस्यहरूलाई सोधेका थिए, ‘ल कमरेडहरू बैठक नबस्ने र छलफल नै नहुने भन्ने कुरा सही हो त ?’

विष्णु पौडेलबाहेक सबै सचिवालय सदस्यहरूले बैठक र छलफल दुवै आवश्यक रहेको र यसमा दायाँबायाँ गर्न नहुने धारणा राखेका थिए ।’बैठक नै हुन्न, छलफल नै हुन्न भन्ने तपाईं को हो ?’ प्रचण्डको भन्दै उदृत गर्दै स्रोतले भन्यो, ‘तपाईले अझै पनि आफूलाई पार्टीमाथि नै ठान्नुहुन्छ ? यसरी चल्दैन । तपाईंमा अलिकति रियालाइजेसन छ कि भनेको झन् दम्भ बढेर गएको देखिएको छ ।’

छलफल आवश्यक छैन भनेर ओलीले भनिसकेपछि वरिष्ठ नेता माधवकुमार नेपालले सबै समस्याको कारकतत्व नै ओली रहेको भन्दै कडा प्रतिवाद गरेका थिए ।

‘हठ, अहं, दम्भ र स्वेच्छाचारिताको उदाहरण नै तपाईं बन्नुभयो कमरेड,’ नेता नेपालले बैठकमा भने, ‘सचिवालय बैठकमा पेश भएका दस्तावेजमाथि मात्र होइन, सरकार बनेदेखिका तपाईंका क्रियाकलापका बारेमा छलफल हुनुपर्छ ।’

आजको बैठकमा सचिवालय बैठकमा पेश भएका दस्तावेजमाथि औपचारिक छलफल भएन । छलफल गर्ने कि नगर्नेमै नेताहरूको रस्साकस्सी देखिएको थियो ।तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षका प्रस्तावमाथि छलफल शुरू भएको दाबी गरेका छन् ।

‘दुवै प्रस्तावमाथि छलफल शुरूवात भएको छ, सकिएको छैन । छलफल औपचारिक रूपमा अगाडि बढाउने कार्यका साथसाथै नेताहरूको बीचमा अनौपचारिक संवादको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले श्रेष्ठले भने, ‘भोलि १ बजे बस्ने गरी बैठक सकिएको छ ।’श्रेष्ठले दुवै अध्यक्षका प्रस्तावका साथसाथै पार्टीमा संकटको कारण र त्यसको समाधान र निकासमा छलफल शुरू भएको बताए । ‘पार्टी एकताको रक्षा गर्दै छलफल अगाडि बढाउने प्रयत्न छ । बैठकमा र अनौपचारिक रूपमा भएका छलफलले नै एउटा निष्कर्ष निकाल्ने छ,’ उनले भने ।बिहीवार नेकपाको स्थायी कमिटी बैठक बस्ने कार्यतालिका तय गरिएको छ भने यही मङ्सिर २५ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ ।लोकान्तर बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close