फूलपातीबाट दसैंको विशेष चहलपहल : प्रहरीले बढायो निगरानी

सैंको विशेष चहलपहल सुरु भएसँगै मोरङ प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ। प्रत्येक वर्ष फूलपातीबाट दसैंको विशेष चहलपहल सुरु हुन्छ। विगतमा चाडपर्वका बेला भएका अपराधिक गतिविधि र यस वर्ष हुन सक्ने सम्भावित घटनाको विश्लेषण गर्दै प्रहरीले प्रदेश १ को राजधानी विराटनगर लगायत मोरङको सुरक्षा व्यवस्था कडा पारेर लगेको छ। शंकास्पद गतिविधि गर्ने, चोरी, लुटपाट, डकैती लगायतका अपराध गर्न खोज्ने, मापसे (मादक पदार्थ सेवन) गरेर होहल्ला एवं शान्ति सुरक्षाको अवस्था भड्काउन खोज्नेमाथि विशेष ढंगले निगरानी बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

दसैं लगायत चाडपर्वका बेला अपराध गर्ने एवं अवैध तरिकाले लाभ उठाउन खोज्ने प्रयास कसैले गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कारवाही अघि बढाइने उनको भनाइ छ। चाडपर्वका बेला हुनसक्ने अपराधिक घटना नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न परिचालित प्रहरीको नेतृत्व एसपी खड्का आफैँले गरेका छन्।

उनले कुनै पनि शंकास्पद गतिविधि कोही कसैले गरेको पाइएमा तत्काल प्रहरीलाई जानकारी दिन पनि आग्रह गरेका छन्। उनले आर्थिक गतिविधि धेरै हुने ठाउँदेखि लिएर महत्वपूर्ण प्रतिष्ठानहरु तथा सार्वजनिक स्थलमा प्रहरी उपस्थिति बढाएर सुरक्षा व्यवस्था कडा पारिएको जनाए। एसपी खड्काले कुनै पनि अपराधिक घटना हुन नदिने हिसाबमा प्रहरी अघि बढेको जनाए। सार्वजनिक स्थल र पसलहरुमा २४ घण्टा नै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको छ।

त्यस्तै होटल, मदिरा पसल एवं सार्वजनिक सवारी साधन चेकजाँचलाई प्रहरी तीव्र पारेको छ। जसरी भए पनि चाडपर्व सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने प्रयोगको उदेश्य रहेको उनले स्पष्ट पारे। कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला सुरु भएका चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रहरीको योजना छ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ठाउँठाउँमा सादा पोशाक र हतियारसहितका प्रहरीको विशेष टोली परिचालन गरिएको उनको भनाइ। प्रहरीको पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउन थालेको छ। कोरोनाका कारण यस वर्ष खासै भीडभाड नहुने भए पनि धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिर लगायत विगतमा भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने स्थानमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्न प्रहरी सक्रिय बनेको छ।
खड्काका अनुसार मापसेबाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव, सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण लगायतमा प्रहरीले बढी जोड दिएको छ। चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण प्रहरीको प्राथमिकतामा रहेको उनले उल्लेख गरे।

त्यस्तै जुवा, तास लगायत गैह्र कानुनी खेलहरु र शान्ति भड्काउनेसमूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने नीति प्रहरीले बनाएको छ। एसपी खड्काका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमी आउन नदिने प्रहरीको योजना छ।
पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रण थालिएको छ। सवारी साधनमाथि आकस्मिक चेकजाँच सुरु गरिएको छ। प्रहरीले मापसे गरेर सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाउँदै दुर्घटनामा कमी ल्याउन विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको छ।

खड्काका अनुसार कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले चाडपर्वमा झन् जोखिम हुन सक्नेभन्दै मास्क, सेनिटाइजर प्रयोग गर्न र भीडभाड नगर्न एवं संक्रमण नफैलने गरी सुरक्षित हिसाबमा चाडपर्व मनाउन सबैमा आग्रह गर्दै माइकिङ गर्दै सन्देशमुलक कार्यक्रमहरु भइरहेका छन्।

नेपाल–भारत सीमा क्षेत्रमा लुकिछिपी हुने चोरी तस्करी नियन्त्रण गर्न प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालन गरेको छ। सीमा क्षेत्रमा भइरहेका मानवीय चहलपहल नियन्त्रण एवं रोकथाम गरेर तस्करीलाई शून्यमा झार्ने योजनाका साथ अप्रेशन चलाइएको खड्काको भनाइ छ।

चाडपर्वलाई लक्षित गरेर प्रहरीले प्रशासन लगायतका निकायसँग समन्वय गर्दै अत्यावश्यक सेवाका साधनहरु एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखेको छ। कुनै पनि घटनामा परेर घाइते भएकाको उपचारका लागि कोशी लगायत सबै अस्पताललाई २४ घण्टानै तयारी अवस्थामा राख्न प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासँग समन्वय भइसकेको खड्काको भनाइ छ। उनका अनुसार कोरोना भाइरसको संक्रमण नियन्त्रण एवं रोकथामका लागि तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईकासाथ पालना गराउन पनि प्रहरी सक्रिय भएर लागेको छ।

यसैबीच प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले पनि चाडपर्वका समयमा प्रदेशको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिने बताएका छन्। उनले चाडपर्वलाई लक्षित गर्दै प्रदेशका १४ वटै जिल्लाको सुरक्षा अवस्था मजवुत बनाएर लगिएको जानकारी दिए।

ठूलो संख्यामा प्रहरी परिचालन गर्दै शंकास्पद ठाउँहरुमा निगरानी बढाउने, गलत गर्न खोज्नेलाई नियन्त्रणमा लिने तथा सार्वजनिक स्थलदेखि लिएर सबै ठाउँमा २४ घण्टानै सुरक्षा प्रदान गर्ने काम थालिएको कार्कीको भनाइ छ। उनले अपराध गरेर फाइदा उठाउने मनसाय राख्नेहरु तत्काल प्रहरीको फन्दामा पर्ने जानकारी दिए।

डीआईजी कार्कीले कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला सबैले सुरक्षित ढंगले र संक्रमण हुन नदिने हिसाबले स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै चाडपर्व मनाउनु पर्नेमा जोड दिए। उनले गलत कार्य गर्न खोज्ने शंकास्पद व्यक्तिहरुका बारेमा तत्काल प्रहरीलाई जानकारी दिन प्रदेशका बासिन्दालाई आग्रह गरेका छन्।

हिन्दु धर्मावलम्बीको महान चाड बडादसैंले छपक्कै छोपेको बताउँदै कार्कीले चाडपर्व सौहार्दपूर्ण वातावरणमा सुरक्षित ढंगले मनाउने चाहना सबैको हुने बताए। चाडपर्वलाई मर्यादित र सुुरक्षित बनाउनु सबैको दायित्व हुने उनको भनाइ छ।

चाडपर्वको मौका छोपेर अपराधिक घटना गराउने र अवैध गतिविधी गर्नेहरु सक्रिय हुनसक्नेतर्फ प्रहरी सचेत रहेको उनले बताए। कार्कीका अनुसार यस्तो बेलामा शंकास्पद गतिविधी गर्नेहरु भेटिएमा तत्काल प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीले शंकास्पद गतिविधीका बारेमा समयमै सूचना पाउन नसक्दा जघन्य प्रकृतिका अपराधिक घटना हुनसक्ने कार्कीको भनाइ छ।

उनका अनुसार सबै चाडपर्व मनाउन व्यस्त भएको मौकामा अपराध गरेर लाभ उठाउन खोज्ने समूह सक्रिय हुने गरेको विगतका घटनाबाट पुष्टि हुन्छ। कुनै घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै गलत प्रवृतिका मानिसहरुलाई बारेमा तत्कालै प्रहरीलाई खबर गरियो भने त्यसले सम्भावित अपराध हुनबाट रोक्न ठूलो मद्धत गर्ने र सबै सुरक्षित होइने कार्कीले बताए ।अन्नपुर्ण पोष्ट बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close