ओली-दाहाल द्वन्द्व : संवादका लागि ‘दूत’ को दौडधुप

काठमाडौँ — अघिल्लो महिना प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच १५ पटक भेटवार्ता भयो । घण्टौं लामो संवादका निमित्त बालुवाटार–खुमलटार गरिरहेका दाहालले बालुवाटारमा तारेख धाइरहेको टिप्पणी पार्टीभित्रैबाट भयो तर मन्त्रिपरिषद् पुनर्गठनमा दुई अध्यक्षबीच कुरा नमिलेपछि दाहालको बालुवाटार जाने सिलसिला रोकियो, अध्यक्षद्वयका बीचमा संवादहीनता सुरु भयो ।कात्तिक ४ गते केहीबेर कुरा गरेका दाहाल र ओलीबीच कर्णाली प्रदेशमा देखिएको समस्या समाधानका सन्दर्भमा कुरा मिलेन । उनीहरूले छुट्टाछुट्टै सर्कुलर जारी गरे । उनीहरूको यही ‘रबैया’ ननिको लागेर हुनुपर्छ, पछिल्लो समय दुई अध्यक्षबीचको सम्बन्ध सुमधुर बनाउन ‘दूत’ हरू सक्रिय भएका छन् । यो सक्रियता प्रधानमन्त्री ओली पक्षबाट धेरै देखिएको छ । बिहीबारमात्रै प्रदेश ५ का मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष दाहाललाई भेटेर दुई अध्यक्षका बीचमा संवादहीनता तोड्न आग्रह गरेका छन् ।

बिहान दाहाललाई भेट्न उनकै निवास खुमलटार पुगेका पोखरेलले स्थायी कमिटीले गरेका सबै समझदारी कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि दुई अध्यक्ष मिल्नुको विकल्प नभएको बताएका थिए । स्रोतले कान्तिपुरलाई दिएको जानकारीअनुसार पोखरेलले तिहारलगत्तै व्यापक रूपमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी दुई अध्यक्षले फेरि संवाद थाल्नुपर्ने बताएका थिए तर पोखरेलको प्रस्तावमा दाहाल सकारात्मक नदेखिएको उनीनिकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ‘उहाँहरू आउनुहुन्छ, फकाउनुहुन्छ एउटा सहमति भइहाल्छ,’ ती नेताले भने, ‘यसपालि पनि बालुवाटारका तर्फबाट पालैपालो नेताहरू खुमलटार पुगेका छन् तर प्रचण्ड कमरेड कुरा गर्ने मुडमा हुनुहुन्न ।’

दाहाललाई भेट्न बुधबार महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि पुगेका थिए । उनीहरूसँग पनि दाहालले प्रधानमन्त्रीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेर आफूलाई कर्नरमा पारेको गुनासो गरेका थिए । ‘ओलीले काम बिगारुन्जेल उनीहरू चुपचाप लाग्छन्, हाम्रोतर्फबाट केही हुनेबित्तिकै फेरि फकाउन आउँछन्,’ दाहालले आफ्ना निकटस्थहरूसँग गुनासो गरेका छन् ।

बालुवाटारले भने अहिले पार्टीमा विधि र पद्धतिभन्दा पनि सत्ता र महत्त्वपूर्ण नियुक्तिहरूमा भाग नपाएपछि दाहाल बिच्किएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दसैंको बीचमा र त्यसपछि पनि लगातार बसेका उनीनिकट नेताहरूको बैठकमा प्रधानमन्त्रीले सरकार र दाहालले दल चलाउने सहमति भएपछि आ–आफ्नो मोर्चा सम्हाल्नुपर्नेमा दाहालले सरकारको काममा अड्चन गरेको निचोड निस्किएको छलफलमा सहभागी एक नेताले बताए ।

फेरि विवादको भुमरीमा

यद्यपि भदौ २६ मा स्थायी कमिटीले पारित गरेको १५ बुँदे प्रस्तावकै आधारमा दुवै अध्यक्ष चल्नुपर्ने र दुवैतिरबाट त्यसको उल्लंघन भएको निचोड उनीहरूले निकालेका छन् । यही निचोड सुनाउन बिहीबार स्थायी कमिटी सदस्य पोखरेल खुमलटार पुगेका हुन् । त्यसपछि पोखरेलसहित गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्री सचिवालयका सदस्यहरूबीच दुई अध्यक्षबीच संवादको वातावरण कसरी बनाउने भन्ने विषयमा कुराकानी भएको थियो । छलफलमा सहभागी एक सदस्यका अनुसार कि दुई अध्यक्ष मिल्नुपर्ने, अध्यक्षहरूका बीचमा मेलमिलाप नभए पार्टी फुट्न सक्ने उनीहरूको आकलन छ ।

‘अध्यक्षहरूले नै निर्णय एउटा, काम अर्को गर्न भएन,’ ती नेताले भने, ‘अहिले आफूतिरका मात्रै मन्त्री बनाएर प्रधानमन्त्रीले पनि अर्को पक्षलाई खेल्ने ठाउँ दिनुभएको हो, अर्का अध्यक्षले पनि पार्टीको काम गर्नुपर्नेमा चाहिनेभन्दा धेरै भागबन्डा खोजेर बिगार्नुभएको हो ।’ उनले दुई अध्यक्षका बीचमा गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टलाई राख्ने कि हटाउने भन्नेबारे कुरा नमिल्नु नै पछिल्लो टकराबको कारण भएको जिकिर गरे । ‘प्रचण्डले बादल र लेखराजजीलाई जसरी पनि हटाउनुपर्छ भन्नुहुँदो रैछ, प्रधानमन्त्रीले उनीहरूलाई हटाउनै नचाहने,’ ती नेताले कान्तिपुरसँग भने, ‘टोपबहादुर रायमाझी, हरिबोलहरूलाई मन्त्री बनाउन खोज्दा पनि उहाँले मेरो नेता नचलाउनुस् भन्नुभयो, त्यसो हो भने त प्रचण्डजीले नै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरूलाई प्रयोग गरिरहनुभएको छ नि, ती कसका मान्छे हुन् त ?’

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पनि अहिले अध्यक्षद्वय भदौ २६ यताको समझदारी अनुसार नचलेकाले आफूहरूले संवादको वातावरण बनाउन लागिपरेको बताए । ‘स्थायी कमिटीले दुवै अध्यक्षको स्पष्ट कार्यविभाजन गरेको छ, सरकारको जिम्मा लिनेले सरकारकै लिनुपर्‍यो, पार्टी चलाउनेले पार्टी चलाउनपर्‍यो,’ गुरुङले कान्तिपुरसँग भने, ‘हामी एकताका पक्षधरहरू दुई अध्यक्ष मिल्नुपर्छ भनेरै लागेका छौं, उहाँहरूबीच छिट्टै छलफल होला ।’ उनले बृहत् रूपमा मन्त्रिपरिषद् पुनर्गठन भएपछि सहमतिको वातावरण फेरि तयार हुने बताए ।

माधव नेपाल तानातानमा

आफूहरूका बीचमा कटुता बढेपछि दुवै अध्यक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई फेरि आ–आफ्नो पक्षमा राख्ने प्रयत्न गरेका छन् । गत साउन ९ गतेयता छलफल नगरेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच गत कात्तिक ४ गते र मंगलबार गरी दुईपटक संवाद भइसकेको छ । दुवै भेट प्रधानमन्त्री ओलीको चाहनामा भएको र ओलीले मिलेर अघि बढ्न प्रस्ताव गरेको नेपालनिकट नेताले बताए ।

‘अहिले कर्णाली प्रदेशको विवादमा ओली अल्पमतमा हुनुहुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘आफूलाई अप्ठ्यारोमा पर्दा साथ खोज्ने र सजिलो हुँदा लात हान्ने उहाँको स्वभाव नै हो ।’ नेता नेपाल र अध्यक्ष दाहालबीच बिहीबार दिउँसो भएको संवादमा पनि ओलीले हेपाहा शैली अपनाएको र आफूहरूबीच फाटो ल्याउने प्रयत्न गरेको निचोड निस्किएको थियो । ‘उहाँको तरिका नै त्यस्तै छ, मलाई भेटे अर्को गलत भन्नुहुन्छ, अर्कोलाई भेटे मलाई गलत भन्नुहुन्छ,’ नेता नेपालले कान्तिपुरसँग भने, ‘कोठाकोठामा बसेर किन नेता भड्काउनुपर्‍यो, पार्टीको बैठक डाकेर छलफल गरे भइहाल्यो भनिदिएको छु ।’

पछिल्लो समय ओलीले नेपाललाई आफ्नो पक्षमा लिन खोजे तापनि नेपालको सदाशयता भने दाहालतिरै देखिन्छ । दाहाल र नेपालबीच दिनदिनैजसो संवाद हुने गरेको उनीहरू निकटस्थको भनाइ छ ।कान्तिपुर दैनिक बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close