प्रकाश सपुतको गीत ‘पिर’ मा मिश्रित प्रतिक्रिया

 

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएपछि शनिबारदेखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ। आइतबार बिहानसम्म युट्युबमा १३ लाख मानिसहरूले हेरिसकेको उक्त गीत अहिले भाइरल भएको छ।

माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन्।

माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन्।

माओवादी केन्द्रकी सांसद सत्या पहाडीले गीतले ‘जनयुद्धमा’सहभागी महिलामात्र नभएर सिंगो महिला समुदायमाथि लैंगिक हिंसा गरेको बताएकी छन्।

‘चुनावको मुखैमा आएर  प्रकाश सपुतले जनयुद्धको उपलब्धीलाई दिग्भ्रमित पार्दै  वीरता, साहस र बलिदानीपूर्ण ढंगले परिवर्तनको आन्दोलनमा समर्पित वीरविरंगनाहरूको इतिहासलाई अपमान गर्दै गीतिकथा सार्वजनिक गरेर परिवर्तनविरोधी प्रवृतिको मतियार बनेका छन्,’ पहाडीले फेसबुकमा लेखेकी छन्,’यसो गरेर प्रकाशको गीतले जनयुद्धमा सहभागी महिला मात्र होइन सिंगो महिला समुदायमाथि लैंगिक हिंसा गरेको छ। यो निन्दनीय छ र कानुनी हिसाबले दण्डनीय पनि। यसको फैसला प्रकाश आफैंले गर्नुपर्ने छ।’

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले ‘जनयुद्ध’लडेको महिला छापामारको अभावलाई `देह’ व्यापारमा लगेर गरिएको चित्रण आपत्तीजनक मात्रै नभएर दण्डनीय भएको बताएका छन्।

‘सर्जक सपुतलाई मेरो एउटा प्रश्न- अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो?’ दिपशिखाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सायद ती महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क संगीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे!’

माओवादी भातृ संगठन वाइसिएलका संयोजक सुमन देवकोटाले युट्युबबाट गीत हटाउन गायक प्रकाश सपुतसँग माग गरेका छन्।

‘देशको राजनैतिक रूपान्तरणको लागि लडेका महिला छापामार (गणतन्त्रको सेनानी) लाई चरित्रहीन नारीको रूपमा चित्रण गरिएको कथित म्युजिक भिडिओ सह्य छैन,’ उनले भनेका छन्,’गणतन्त्रको सेनानीको अपमान हुने शब्द/दृश्य तुरून्त हटाउन म प्रकाश सपुतसँग अनुरोध गर्दछु।’

माओवादी भातृ संगठन अनेरास्ववियुकी अध्यक्ष पञ्चा सिंहले गीत हटाएर माफी माग्न गायक सपुतलाई भनेकी छन्। भिडिओ नहटाए चुप लागेर नबस्ने उनको चेतावनी छ।

‘जनयुद्धमा सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेका जातीय विभेदविरूद्ध पनि लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नु भयो,’ उनले भनेकी छन्, ‘तिनै दिदीबहिनीहरू माथि अपमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु।’

माओवादीबाहेक अरूले भने यो गीत यथार्थमा आधारित भएकाले माओवादी आक्रोशित हुनुको कुनै अर्थ नभएको बताएका छन्।

माओवादी सशस्त्र युद्धमा सहभागी भएका तर पछिल्लो समय माओवादी त्यागेका पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका  संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गीतमा आपत्ती मान्नुपर्ने कुनै विषय नभएको बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्- म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले  प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ती मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने?

कलिलैमा माओवादी सेनामा भर्ती भएका र सेना समायोजनका बेला बहिगर्मनमा परेका बहिर्गमित बाल सैनिक संगठनका प्रमुख लेनिन बिष्टले यो गीतले सशस्त्र युद्धमा होमिएका योद्धाहरूको वास्तविकता दर्शाएको बताएका छन्।

‘सत्यतालाई दृश्यमा देखाउँदा जनयुद्ध र तमाम महिलाहरूको अपमान भयो भन्ने साथीहरूले के बुझ्नुपर्छ भने ‘जनयुद्धको अपमान शब्दको पर्दाले’ योद्धाहरूको पीडालाई छोप्न खोज्नु न्यायसंगत हुदैन! बरू योद्धाहरूको व्यवस्थापनबारे सोच्नुपर्छ,’ बिष्टले लेखेका छन्, ‘कयौं चेली योद्धाहरू आज पनि खाडीको कोठरीमा कष्टकर अवस्थामा छन भने कयौं पुरूष योद्धाहरू पनि सोही अवस्थामा छन्, तपाईंहरूलाई प्रमाण चाहिए म दिन्छु। अन्यथा योद्धाहरूको पीडालाई जनयुद्धको अपमान शब्दको पर्दाले नछोपौं!’

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close