निर्माण कम्पनीको चरम लापर्बाहीले छत्रदेवको प्रशासनिक भवन अलपत्र

नेत्र मरासीनी,सन्धिखर्क ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रशासकीय भवनको २०७७ पौष ९ गते शिलान्यास भएको थियो ।न्यायिक इजलाससहितको सुविधा सम्पन्न भवनको तत्कालीन गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले शिलान्यास गर्नुभएको वार्ड नम्बर ५ छत्रगञ्जमा निर्माणाधीन भवनको २०७७ असौज ३० गते ठेक्का सम्झौता भएको थियो । ५ करोड ३० लाख ४७ हजार रुपैयाँमा सम्पन्न गर्ने गरी शिवाको भुसाल बस्नेत जेभी काठमाडौँले ठेक्का पाएको भएपनी भुसाल निर्माण सेवाले काम गर्दै आएको थियो ।

२०७९ साल जेठ २५ गते सम्म सम्पन्न गर्ने गरी सम्झौता भएको भएपनी सम्झौता अवधि सकिएको एक बर्ष बिती सक्दा समेत निर्माणाधीन प्रशासकीय भवन अलपत्र रहेको छ । मुख्य भवनको तल्ला ढलान र बाहिरी वाल प्लास्टर सम्पन्न भएको भएपनी अन्य काम एक बर्ष देखि ठप्प छ । निर्माण कम्पनीका मालिकको चरम लापर्बाहीले समयमा काम सम्पन्न नभएपछि उक्त भवन अलपत्र परेको हो ।

सम्झौता अवधि सकिएको एक बर्ष बितीसक्दा समेत निर्माणाधीन प्रशासकीय भवन अलपत्र रहेको छ
ठेकेदार कम्पनीलाई पटक पटक ताकेता गर्दा समेत काम अगाडी नबढाएको गाउँपालिका स्रोतले जनाएको छ । पालिकाले भवन निर्माणको लागी तेस्रोपटक २०८१ साल ज्येष्ठ मसान्त सम्म म्याद थप गरेको छ ।

यस अवधिमा समेत निर्माण कम्पनीका सञ्चालकलाई पटक पटक सम्पर्क गरिएको भएपनी सञ्चालक सम्पर्कमै नआएकोले आगामी कार्यपालिका बैठकबाट सम्झौता तोड्ने गरी छलफल अगाडी बढाइएको छ । निर्माण कार्यको ६५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएकोमा ५० प्रतिशत भन्दा बढी रकम ठेकेदार कम्पनीले पालिकाबाट भुक्तानी लगी सकेको गाउँपालिकाका इन्जिनियर साजन पाण्डेले जानकारी दिनुभयो । बजेट अभावका विषयमा बुझ्दा प्रशासनिक भवन निर्माण कार्यका लागी कहिल्यै पनि बजेट अभाव नभएको स्पष्ट पार्नुभयो ।

गाँउपालीकाले दैनिक प्रशासनिक काम निर्माणाधीन भवन नजिकै सामान्य टिनको टहरो बाट सञ्चालन गर्दै आइरहेको छ । कोठा तथा भवनको अभावले एउटै कोठामा धेरै शाखाहरू सञ्चालन गर्नुपर्ने,फाइल हराउने जस्ता कारणले दैनिक कार्यसम्पादन गर्न समस्या भएको सूचना अधिकारी बुद्धिराम न्यौपानेले बताउनुभयो ।

गाउँपालिकाले निर्माण थालेको १५ शैय्याको आधारभूत अस्पताल निर्माणको समेत जिम्मा पाएको भुसाल निर्माण सेवाले डेढ बर्ष सम्म काम अगाडी नबढाएको भन्दै पालीकाले अन्य कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो ।

त्यसपछि अस्पतालको काम सुस्त गतिमा अगाडी बढेको भएपनी रकम अभावको समस्या रहेको इन्जिनियर पाण्डेले बताउनुभयो । अर्घाखाँचीमा भुसाल निर्माण सेवाले आधा दर्जन भन्दा बढी आयोजनाको जिम्मा लिएको भएपनि अधिकांश आयोजना अलपत्र परेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close