सागर महत ,वैशाख १५अर्घाखाँची ।शिक्षा क्षेत्रको खस्कँदो गुणस्तरप्रति सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला ले पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको कमजोर नतिजाप्रति जिम्मेवार निकायहरूले उत्तरदायित्व बहन गर्नुपर्ने बताएका छन्। NCE नेपाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सम्पन्न “स्थानीय शिक्षा क्षेत्रमा लगानी वृद्धि तथा व्यवस्थापन” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय तह, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले जिम्मेवारी बोध गर्दै शिक्षाको गुणस्तर सुधारमा जुट्नुपर्नेमा जोड दिए।

प्रमुख कोइरालाले संघ, प्रदेश र स्थानीय तहबाट शिक्षा क्षेत्रमा विनियोजन हुने बजेटसमेत अपेक्षाअनुसार पर्याप्त नभएको उल्लेख गर्दै आगामी बजेटमा यसलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरे।
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख तथा जनज्योति मावि व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद भुसाल ले विद्यार्थीमा सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजगारीका कारण अभिभावकको अभाव, र आमाको निगरानीमा पनि बालबालिकामा बढ्दो जिद्दीपनाले शिक्षामा नकारात्मक असर पारेको बताए।

त्यसैगरी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णु बेल्बासे ले वर्तमान समयमा प्राविधिक तथा व्यावहारिक शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै शैक्षिक गुणस्तर सुधारमा अभिभावकको भूमिकासमेत महत्वपूर्ण हुने बताए।

सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु आचार्य का अनुसार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा करिब ६ हजार विद्यार्थी अध्ययनरत भए पनि शिक्षा क्षेत्रको अधिकांश बजेट तलब–भत्तामै खर्च हुने गरेको छ।
सुरज सारुको सहजीकरणमा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रम NCE नेपाल अर्घाखाँचीका अध्यक्ष ठाकुर अधिकारी को अध्यक्षता तथा पत्रकार केशव पन्थी को सञ्चालनमा सम्पन्न भएको थियो।






कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकिय अधिकृत श्यामहरि घिमिरे , पाणिनी बहुमुखी क्याम्पसका उपप्रध्यापक द्रोण प्रसाद भुसाल, नेपाल बाल संगठन अर्घाखाँचीका सभापति रामचन्द्र पोखरेल, गैरसरकारी महासंघ नेपाल अर्घाखाँचीका सचिव राधा नेपाली, सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ का विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक एनसिइका प्रतिनिधि कुलबहादुर नेपाली, फर्सुराम पाण्डे लगायतको उपस्थिति रहेको थियो।

















