सागर महत,सन्धिखर्क ।कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आयोजनामा एग्रोभेट व्यवसायीहरूसँग अन्तरक्रिया गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला ले जिल्लामा एग्रोभेट व्यवसायीका समस्या समाधानका लागि विगतदेखि नै पहल भइरहेको बताउनुभयो।

उहाँले गत आर्थिक वर्ष मान्यता प्राप्त नभएका व्यवसायीहरूले मल तथा बीउ बिक्री–वितरण गरेको पाइएपछि कानुनी दायरामा ल्याइएको र यस वर्ष पनि मापदण्डविपरीत यस्ता गतिविधि भए कानुनी कारबाही गरिने चेतावनी दिनुभयो। व्यवसाय सञ्चालनको उद्देश्यअनुसार मात्र कारोबार गर्न उहाँले व्यवसायीहरूलाई आग्रह गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी ले यस्ता कार्यक्रमले व्यवसाय सञ्चालनमा एकरूपता ल्याउन तथा व्यवसायीहरूलाई कानुनी व्यवस्थाबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धि राज घिमिरे ले जिल्लाभरका एग्रोभेट व्यवसायीहरूको प्रतिनिधिमूलक सहभागिता गराइएको जानकारी दिनुभयो। एग्रोभेट सञ्चालन, दर्ता, नवीकरण, खारेजी तथा बाली संरक्षणसम्बन्धी विषयमा जानकारी प्रदान गरी व्यवसायलाई व्यवस्थित बनाउन कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो।


उहाँले कृषि ज्ञान केन्द्र अर्घाखाँचीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल बाट नगद २ लाख रुपैयाँसहित राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल कृषक गुनप्रसाद श्रेष्ठ लाई कार्यालयले सम्मान गर्दै हौसला प्रदान गरेको पनि जानकारी दिनुभयो।कार्यक्रममा नयाँ नेपाल एग्रोभेटका सञ्चालक युवराज पौडेल ले इजाजत नलिएका सामान्य व्यापारीहरूले अझै पनि मल तथा बीउ बिक्री–वितरण गरिरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।

त्यसैगरी कृषक सुशील आचार्य र गुनप्रसाद श्रेष्ठ ले कृषकहरूले उत्पादनमा गरेको मेहनतप्रति केही उपभोक्ताबाट अनावश्यक टिप्पणी हुने गरेको गुनासो व्यक्त गर्नुभयो।
कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरे ले विषादी व्यवस्थापन ऐन, इजाजतपत्रसम्बन्धी व्यवस्था तथा इजाजतपत्र खारेजी गर्न सकिने कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रम शारदा आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

















