सागर महत,असार ०५ सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ डाँडाकटरीस्थित सरस्वती माता माध्यमिक विद्यालय तथा वीरेन्द्र माध्यमिक विद्यालय, मरेङ्गमा शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीको आयोजनामा विषयगत शिक्षकहरूको सहभागितामा अनुगमन गरिएको छ।
अनुगमनमा शान्ति माध्यमिक विद्यालय, मालारानी–५ का अंग्रेजी विषयका शिक्षक माधव प्रसाद पन्थी, सार्वजनिक माध्यमिक विद्यालय, छत्रदेव–५ छत्रगञ्जका गणित विषयका शिक्षक प्रेम पाण्डे तथा आदर्श माध्यमिक विद्यालय, मालारानी–३ का गणित विषयका शिक्षक भेषराज खनाल सहभागी हुनुहुन्थ्यो। शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीकी प्राविधिक सहायक अञ्जु पौडेलका अनुसार माध्यमिक तह अन्तर्गत कक्षा ९ र १० मा अध्यापन गराउने शिक्षकहरूको पठनपाठन शैलीको मूल्याङ्कन गर्दै आवश्यक सुधारका पक्षमा सहयोग पुर्याउने उद्देश्यले अनुगमन गरिएको हो।
अनुगमनका क्रममा विद्यालयमा विद्यार्थी सहभागिताको अवस्था, भौतिक पूर्वाधार, सुधार गर्नुपर्ने पक्ष तथा शिक्षक र विद्यार्थीबीचको शैक्षिक वातावरणबारे समेत अध्ययन गरिएको थियो। साथै, वीरेन्द्र माध्यमिक विद्यालय मरेङ्गको एउटा भवन चर्किएको अवस्थामा रहेकाले यसको समाधानका लागि गाउँपालिका तथा शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण गराइएको छ। यस विषयमा शिक्षक तथा विद्यार्थीहरूले समेत आवश्यक पहलको माग गरेका छन्।
त्यसैगरी, शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक, विषय विज्ञ शिक्षक तथा विद्यालयका शिक्षकबीच वर्तमान शैक्षिक अवस्थालाई कसरी थप प्रभावकारी र गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयमा छलफल समेत भएको थियो।

















