स्वास्थ्य कार्यालयको आयोजनामा डेंगी रोकथाम सम्बन्धी कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सागर महत ,जेठ १२ अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा डेंगी तथा जापानीज इन्सेफ्लाइटिसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तथा बहुक्षेत्रीय सरोकारवालासँग समन्वय तथा पैरवी कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले डेंगी, जापानीज इन्सेफ्लाइटिस लगायतका रोगबाट बच्न सबैभन्दा पहिले नागरिक स्वयं सचेत हुन आवश्यक रहेको बताउनुभयो। उहाँले सरसफाइ, सावधानी र समयमै उपचारले यस्ता रोग नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले डेंगी लगायतका रोगको रोकथाम तथा नियन्त्रणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक तथा निजी सवारीसाधनमा सचेतनामूलक पम्प्लेट टाँस्ने अभियान सञ्चालन गरिएको जानकारी दिँदै यस अभियानले यात्रुहरूलाई रोगबारे सचेत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

 


कार्यक्रममा सन्धिखर्क पोलिक्लिनिकमा कार्यरत एमडीजीपी डा. अशोक शाहले डेंगी, जापानीज इन्सेफ्लाइटिस तथा स्क्रब टाइफस रोग कसरी सर्छन्, तिनका लक्षण तथा रोकथामका उपायबारे जानकारी गराउनुभयो। उहाँले यस्ता रोगको रोकथाम अपेक्षाकृत सहज भए पनि लक्षण देखिएमा रोग लुकाएर नबस्न र तत्काल स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन आग्रह गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेल तथा सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा अर्घाखाँची ट्राफिक प्रहरी प्रमुख लीलबहादुर कुँवर, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। स्वास्थ्य कार्यालयले डेंगी तथा अन्य सरुवा रोग नियन्त्रणका लागि आगामी दिनमा पनि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation