मालारानी।अर्घाखाँची जिल्लाका दलित जनप्रतिनिधिहरूको प्रथम जिल्ला सम्मेलन तथा ‘मालारानी घोषणा–पत्र’ निर्माण कार्यक्रम मालारानी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको छ।मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालिकाकी उपाध्यक्ष दीपा पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा भूमिकास्थान नगरपालिका–४ का वडाध्यक्ष बाबुराम पन्थी सुनारले सम्मेलनको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो भने दलित सञ्जाल अर्घाखाँचीका अध्यक्ष विष्णुबहादुर परियारले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रशिक्षण सत्रमा अधिवक्ता कृष्ण विश्वकर्माले संविधान तथा कानुनमा दलित समुदायका अधिकार र व्यवस्थाबारे प्रशिक्षण दिनुभएको थियो। मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले स्थानीय तहमा जनप्रतिनिधिहरूको भूमिका तथा सन्धिखर्क नगरपालिकाका पुर्व नगरउपप्रमुख ठाकुरकुमार विकले दलित जनप्रतिनिधिहरूको भूमिका, अवसर र चुनौतीबारे प्रशिक्षण दिनुभएको थियो। सहभागी जनप्रतिनिधिहरूले आफ्ना अनुभव र असल अभ्याससमेत प्रस्तुत गरेका थिए।
सम्मेलनले ३१ बुँदे ‘मालारानी घोषणा–पत्र’ जारी गर्दै १३ सदस्यीय दलित जनप्रतिनिधि जिल्ला सञ्जाल, अर्घाखाँची गठन गरेको छ।
सञ्जालको संयोजकमा लिलबहादुर बिक, सचिवमा ठाकुर सौराग, कोषाध्यक्षमा शारदा परियार तथा सदस्यहरूमा नन्दलाल विश्वकर्मा, मानबहादुर नेपाली, लक्ष्मी सुनार, कृष्ण नेपाली, रेशमी बि।क।, भुमा परियार, श्यामकुमार बि।क। र सुन्तली बि।क। चयन हुनुभएको छ।
त्यसैगरी, भूमिकास्थान नगरपालिका–४ का वडाध्यक्ष बाबुराम पन्थी सुनारको संयोजकत्वमा मानबहादुर बिक, चुराबहादुर बिक, मीना परियार र विष्णु बि।क। सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ।
जिल्लाका विभिन्न स्थानीय तहका दलित जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको सम्मेलनबाट जारी मालारानी घोषणा–पत्र ले दलित समुदायको अधिकार, समान सहभागिता, सामाजिक न्याय र समावेशी विकासलाई संस्थागत गर्न महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।

















