सागर महत,असार१८ अर्घाखाँची ।
अर्घाखाँचीको नरपानी क्षेत्रमा पछिल्लो समय होटल तथा पर्यटन व्यवसायमा लगानी गर्नेको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। शीतल हावापानी, मनोरम हरियाली वातावरण र नजिकै रहेको प्रसिद्ध सुपादेउराली मन्दिरका कारण यहाँ आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकको आगमन पनि वर्षेनी बढिरहेको छ।
विशेषगरी जेठ र असार महिनामा तराई तथा भारतका विभिन्न स्थानबाट गर्मी छल्न आउने पर्यटकको चाप अत्यधिक हुने गरेको छ। यही बढ्दो पर्यटकीय आकर्षणलाई मध्यनजर गर्दै होटल, रिसोर्ट तथा अन्य पर्यटन पूर्वाधारमा लगानी गर्ने व्यवसायीको संख्या निरन्तर बढिरहेको स्थानीय बताउँछन्।

लगानीकर्ताको आकर्षण बढेसँगै नरपानी क्षेत्रमा जग्गाको माग पनि उच्च भएको छ। स्थानीयका अनुसार अहिले होटल वा रिसोर्ट निर्माणका लागि उपयुक्त जग्गा पाउन निकै कठिन भइसकेको छ। केही वर्षअघिसम्म सामान्य मूल्यमा पाइने जग्गाको मूल्यसमेत उल्लेख्य रूपमा वृद्धि भएको छ।
पर्यटनसँगै होटल व्यवसाय विस्तार हुँदा स्थानीय कृषि उत्पादन, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव परेको छ। नरपानी अहिले अर्घाखाँचीको उदाउँदो पर्यटकीय तथा लगानीको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

















