सागर महत, अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका को गौरवको आयोजना हाँडेकोट–चिदिका बृहत लिफ्टिङ्ग खानेपानी योजनाको सफल परिक्षण भएको छ । छत्रदेव ४मा निर्माणाधिन अवस्थामा रहेको आयोजनाको अहिले ८५ प्रतिशत काम सम्पन्न भएको छ ।करिव ५ सय मिटर लामो लिफ्टिङ्ग खानेपानी आयोजनाको कालीका मन्दिरमा रहेको ट्याङ्कीबाट पानीको परिक्षण गरेसँगै शिलन्यास पनि गरिएको हो । केहि अब प्राविधिक काम सम्पन्न गरेपछि खानेपानीको छत्रदेव १ देखि ५ वडा सम्मका करिव २५सय घरदुरी यसबाट प्रत्यक्ष लाभ लिने गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, अर्घाखाँची मार्फत सुरु भएको आयोजनामा बिडारी निर्माण सेवाले काम गर्दै आएको छ । वडा नम्बर ४ कोट भन्ने स्थानबाट ५ वटै वडामा खानेपानी वितरण हुने प्रमुख प्रशासकिय अधिकृत बासुदेव घिमिरेले जानकारी दिनुभयो ।जसको लागत करिव ३२ करोड रहेको उहाँको भनाइ छ ।
विशेष गरि महिला दिदि बहिनीहरुलाई यो खानेपानी आयोजनाले धेरै राहत पुराउने गाउँपालिका उपाध्यक्ष मनी पन्थीको भनाइ छ ।बिहानै देखि पानी ल्याउन जाँदा अधिकांश समय खर्चिन बाध्य थिए । अब यो सम्पन्नको अन्तिम चरणमा पुगेकाले धेरै राहत मिल्ने उपाध्यक्ष पन्थीले बताउनुभयो ।
यो आयोजनाबाट यहाँका नागरिक निकै खुशी भएको हाँडेकोट–चिदिका बृहत लिफ्टिङ्ग खानेपानी योजनाका अध्यक्ष शोभाखर खनालको भनाइ छ ।
स्थानीय उपभोक्ता संन्जय पाण्डेले विभिन्न चुनौतीका साथ खानेपानी सम्पन्न हुने क्रममा रहेको बताउनुभयो ।

















