लुम्बिनी प्रदेशको अर्थ उद्योग तथा पर्यटन समितिले गर्यो अर्घाखाँचीको घरेलु कार्यालयले गरेका कामको अनुगमन

रुद्रमणि भुसाल चैत्र २९ अर्घाखाँची

लुम्बिनी प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिद्वारा अर्घाखाँचीको घरेलु तथा साना उद्योग कार्यालयको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ।समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य तथा अर्थ , उद्योग तथा पर्यटन समितिका समितिका संयोजक राजुप्रसाद श्रेष्ठको नेतृत्वमा आएको टोलीले कार्यालयको गतिविधि, सेवा प्रवाह , योजनाहरूको प्रभावकारिता, बजेट कार्यान्वयनमा देखिएका चुनौतीबारे जानकारी लिएको थियो।

अनुगमनका क्रममा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको प्रमुख दुर्गा न्यौपानेले आर्थिक वर्ष २०८२ /८३ मा सञ्चालनमा रहेका योजनाहरूको प्रगति , योजना कार्यान्वयनको क्रममा देखिएका चुनौती, परेका योजनाहरूको बीचमा बजेट कटौती गर्दाको असर, जनशक्ति र सवारी साधन नहुँदा देखिएका समस्या , कार्यालयले जिल्लामा सञ्चालन गरेका उद्यमशीलता , सीपमूलक तालिम, उद्योग दर्ता तथा प्रवद्र्धनका क्षेत्रमा गरेका कामहरूको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जानकारी समेत कार्यालय प्रमुख न्यौपानेले गराउनु भएको थियो।


कार्यक्रममा स्थानीयस्तरमा साना तथा घरेलु उद्योग प्रवद्र्धनमा देखिएका चुनौती, स्रोत–साधनको अभाव, बजार पहुँचको समस्या लगायतका विषयको बारेमा पनि जानकारी गराउनुभएको थियो। साथै, उद्योगमैत्री वातावरण सिर्जना गर्न आवश्यक नीति तथा कार्यक्रमका बारेमा समेत छलफल गरिएको थियो।
लुम्बिनी प्रदेशका अर्थ समिति संयोजक श्रेष्ठले स्थानीय उद्यमलाई सुदृढ बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रभावकारी सेवा प्रवाह र परिणाममुखी कार्यक्रम सञ्चालनमा जोड समेत दिनुभएको थियो ।
सभापति श्रेष्ठले घरेलु कार्यालय स्थापना भएदेखि यसले पारेको प्रभाव , वर्षनि योजना कार्यान्वयन हुँदा के कति नागरिकहरूले तालिम लिए र तालिम लिएका मानिसहरूको अवस्था के कस्तो छ । घरेलु कार्यालयले प्रत्येक वर्ष दिने उद्यमशीलताको तालिमले अर्घाखाँचीका कति नागरिकलाई रोजगारी सिर्जना प्रदान गर्न सक्यो लगायतका विषयहरू समेटेर प्रतिवेदन अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाउन उहाँले आग्रह समेत गर्नुभयो।
श्रेष्ठले अनुगमनबाट प्राप्त सुझावहरूलाई नीति निर्माणमा समेटिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले दर्ता गरेका व्यवसायीले किन उद्योगहरू पछिल्लो समयमा दिनप्रतिदिन बन्द गर्नुपर्ने परिस्थिति सृजना भयो त्यसको कारण खोजी गर्न जरुरी रहेको बताउनुभयो । चौधरीले घरेलु कार्यालयका प्रमुखलाई जिल्लाको आवश्यकता र भूगोल सुहाउँदो बजेट माग गर्न आग्रह समेत गर्नुभयो।
त्यस्तै लुम्बिनी प्रदेश अर्थ उद्योग तथा पर्यटन समिति सदस्य हेमा बेलबासे केसीले घरेलु कार्यालयले सञ्चालन गर्ने विभिन्न किसिमका उद्यमशीलताका तालिमको प्रगतिका बारेमा आम नागरिकले चासो राख्ने गरेकाले प्रगति देखिनेगरी काम गर्न आवश्यक रहेको बताउनुभयो। घरेलु कार्यालयले आफ्ना समस्या मात्रै बताउनु भन्दा पनि समस्याहरूको समाधान गर्ने उपायका बारेमा पनि खोजी गर्न जरुरी रहेको बताउनुभयो । कार्यालयले सञ्चालन गर्ने धेरै प्रकारका तालिममा उही व्यक्ति पटकपटक विगतका वर्षहरूमा दोहोरिने गुनासो आइरहेकाले त्यस्ता गुनासाहरु आगामी दिनमा नआउने गरी काम गर्न आग्रह गर्नुभयो। अनुगमनको क्रममा प्रदेश सभा सदस्य भगवती कुमारी थरुनी , प्रदेश सभा सदस्य रेवती गुरुङ तुलसी शर्मा, अर्थ समितिकी सचिव कमला पौडेल पोखरेल, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो।
कार्यक्रममा घरेलु कार्यालयका कर्मचारी हुम बहादुर बिकको सञ्चालनमा सम्पन्न भएको हो। अर्थ उद्योग तथा पर्यटन समितिले सन्धिखर्कमा रहेको सेरामिक्स र घरेलु कार्यालयले सहुलियत ऋण प्रदान गरेर सञ्चालनमा रहेको गार्मेन्ट उद्योगको समेत अनुगमन गरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation