सागर महत,जेठ०८ अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा स्वास्थ्यका विभिन्न विषयहरू सम्बन्धी संचार कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले जेष्ठ नागरिकलाई लक्षित गरी जिल्लाभर नसर्ने रोग सम्बन्धी परीक्षण घरदैलोमै सेवा प्रदान गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार रक्तअल्पता परीक्षणका क्रममा २ हजारभन्दा बढीमा जाँच गर्दा २ सय ११ जनामा सामान्य, १६ जनामा मध्यम र १ जनामा गम्भीर अवस्था पुष्टि भएको छ।
पछिल्लो समय जिल्लामा बन्ध्याकरण सेवा लिनेको संख्या घट्दै गएको पनि उल्लेख गर्नुभयो। चालु आर्थिक वर्षमा जम्मा ९ जनाले मात्र उक्त सेवा लिएको उहाँको भनाइ छ। त्यसैगरी वैशाख १५ गतेदेखि ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको लेखाजोखा गर्ने कार्यक्रम सञ्चालन हुने जानकारी पनि उहाँले दिनुभयो।
कार्यक्रममा अर्घाखाँची अस्पतालका डाक्टर खगेन्द्र आचार्यले नसर्ने रोग अन्तर्गत मुटु, क्यान्सर, मधुमेह र मृगौला सम्बन्धी विषयमा जानकारी दिनुभएको थियो।

यस्तै धूम्रपान र मद्यपानको सेवन, शारीरिक कसरतको कमी, अस्वस्थकर खानेकुरा, तनाव, प्रदूषण नसर्ने रोग बढ्नुको प्रमुख कारण हो । खराब जीवनशैलीले मुटुरोग, मधुमेह, क्यान्सर, दम, मिर्गौलासम्बन्धी नसर्ने रोगको जोखिम बढाउने विभिन्न अध्ययनले पनि देखाएको डक्टर आचार्यको भनाइ छ । मधुमेहलगायतका दीर्घरोग नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन गर्नुका साथै दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्ने गर्नुपर्ने बताएको छ ।
यस्तै जनस्वास्थ्य अधिकृत अंकिता बस्यालले कुष्ठरोग, रेबिज, कालाजार, स्क्रब टाइफाइड तथा डेंगी रोगबारे पनि सहजीकरण गर्नुभएको थियो।
जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलको स्वागत मन्तव्य, जनस्वास्थ्य निरीक्षक निरु अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रमका पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

















