सागर महत, वैशाख १७, अर्घाखाँची।
अर्घाखाँचीमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न पर्याप्त खेलमैदानको अभाव भएको छ।उक्त समस्यालाई मध्यनजर गर्दै सदरमुकाम सन्धिखर्कस्थित टुँडिखेल विस्तारको पहल गर्न आग्रह गरिएको हो। टुँडिखेल विस्तारका लागि वरपर रहेका सडक पूर्वाधार विकास कार्यालय, जिल्ला हुलाक कार्यालय, बालमन्दिर, जिल्ला समन्वय समितिको पार्किङ तथा सभागृह परिसरका संरचना हटाउन आवश्यक रहेको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो।
टुँडिखेल विस्तार अत्यावश्यक भएकाले हटाइने संरचनाहरूका लागि वैकल्पिक जग्गा व्यवस्थापन तथा आवश्यक बजेट विनियोजन गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको उहाँको भनाइ छ।
यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंमा २०८२ भदौको निर्णयअनुसार पत्राचार गरिएको प्रमुख कोइरालाले जानकारी दिनुभयो। साथै, अर्घाखाँचीका सांसद हरिप्रसाद भुसालसँग पनि समस्याको समाधानका लागि पहल गरिदिन अनुरोध गरिएको छ।

















