सागर महत,सन्धिखर्क ।सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण तथा कानुनी सचेतनामार्फत नागरिकलाई सचेत बनाउन SaMi कार्यक्रम प्रभावकारी रहेको बताउँदै कार्यक्रमका उद्देश्यअनुसार सक्रियतापूर्वक काम गर्न आग्रह गर्नुभयो।
SaMi अर्घाखाँचीका कार्यक्रम संयोजक वसन्त श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ठगिएका व्यक्तिहरूको रु ४३ लाख बढी रकम फिर्ता गराउन सफल भएको छ। उहाँले यस अवधिमा २५ वटा मुद्दा दर्ता भएकोमा ११ वटा समाधान भइसकेका र १४ वटा मुद्दा प्रक्रियामा रहेको जानकारी दिनुभयो। कार्यक्रममा सूचना पहुँच, निःशुल्क कानुनी सहायता, कार्यक्रमका उपलब्धि, सूचना पहुँचसम्बन्धी MRC फोन फलोअपको अवस्था, मनोपरामर्श तथा मनोसामाजिक परामर्श सेवा, साथै वार्षिक लक्ष्य र हालसम्मको प्रगतिको विषयमा समेत प्रस्तुति गरिएको थियो।
सन्धिखर्क नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा जिल्लाभित्र सञ्चालन भएका सुरक्षित आप्रवासन कार्यक्रमका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा गरिएको थियो। कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रशासकीय अधिकृत हरिषचन्द्र भुसाल, योजना शाखा प्रमुख दिलीपकुमार केसी, स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली लगायतको सहभागिता रहेको थियो। कार्यक्रम लक्ष्मण घिमिरेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमका सहभागीहरूले सुरक्षित, मर्यादित तथा व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि स्थानीय तहबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए।

















