सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ।घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई ले अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले गत आर्थिक वर्षमा वडा नम्बर ४ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको स्मरण गर्दै यस वर्ष वडा नम्बर ५ लाई घोषणा गरिएको र आगामी दिनमा अन्य वडामा पनि कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयो। आमा र शिशुको सुरक्षा लक्षित यस अभियानलाई अझ प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो।

गाउँपालिका उपाध्यक्ष दीपा पोखरेल ले महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहे पनि कामअनुसारको सुविधा नपाएको उल्लेख गर्दै यस विषयमा केन्द्र सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेल का अनुसार हालसम्म जिल्लाका ११ वटा वडा पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा भइसकेका छन्। आगामी आर्थिक वर्षदेखि आवश्यक योजना बनाएर साउन महिनादेखि अभियानलाई थप विस्तार गरिने उहाँले जानकारी दिनुभयो।

मालारानी ५ मा पछिल्लो तीन वर्षमा १२७ जना आमाले स्वास्थ्य चौकी तथा अस्पतालमा सुरक्षित प्रसूति सेवा लिएको वडा अध्यक्ष तुल्सीराम मिश्र ( तिलक) ले जानकारी दिनुभयो । घरमै हुने प्रसूति शून्यमा झरेपछि वडा पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिएको उहाँको भनाइ छ ।
अर्घाखाँची अस्पतालका एमडिजीपी डा. खगेन्द्र आचार्य ले अझै पनि ग्रामीण क्षेत्रका केही महिलाले अस्पतालमा प्रसूति गराउन हिच्किचाउने गरेको उल्लेख गर्दै यस विषयमा थप जनचेतना आवश्यक रहेको बताउनुभयो। आमा र शिशुको सुरक्षाका लागि स्वास्थ्य संस्थामै प्रसूति गराउनु सबैभन्दा सुरक्षित विकल्प भएको उहाँले जोड दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष गणेश खनाल, मालारानी गाउँपालिकाकी पूर्व उपाध्यक्ष प्रमिला क्षेत्री, पूर्व वडा अध्यक्ष शोभाखर भुसाल, राजनीतिक दलका प्रतिनिधि डालबहादुर चौहान, बाँगी स्वास्थ्य चौकीका जयलाल कुँवर, शान्ति माध्यमिक विद्यालयका शिक्षक ताराप्रसाद भुसाल, बर्थिङ सेन्टरकी अनमी सावित्रा थापा तथा महिला स्वास्थ्य स्वयंसेविका ललिता भण्डारी भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा गाउँपालिकाकी नर्सिङ निरीक्षक पुतला खनाल ले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने जनस्वास्थ्य अधिकृत सफल कुँवर ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।यस अवसरमा मालारानी गाउँपालिकाले महिला स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसमेत गरेको थियो। कार्यक्रममा वडा सदस्य हुमबहादुर महत, पूर्व वडा सदस्य शंकर महत लगायत स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी स्थानीय लगायतको पनि सहभागीता रहेको थियो ।

















