सन्धिखर्क। डिभिजन वन कार्यालय अर्घाखाँचीले वन क्षेत्रमा जलस्रोत संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यका साथ रिचार्ज पोखरी निर्माणलाई प्राथमिकता दिएको छ।यो आर्थिक वर्षमा कार्यालयले सामुदायिक वन उपभोक्ता समूह तथा अन्य स्रोतहरूको साझेदारीमा विभिन्न प्रकृतिका १५ वटा रिचार्ज पोखरी निर्माण सम्पन्न गरेको बताएको छ ।पाणिनी गाउँपालिका–४ को गहुखर्क वनक्षेत्र मा समुद्री सतहबाट करिब १७सय मिटर उचाइ मा निर्माण गरिएको नमुना रिचार्ज पोखरी अहिले आकर्षणको केन्द्र बनेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण वनक्षेत्रको बीचमा ढुङ्गाको बाँध निर्माण गरी तयार गरिएको उक्त पोखरीले जलस्रोत संरक्षणसँगै पर्यावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार उक्त स्थान विगतमा प्राकृतिक दहका रूपमा परिचित थियो। समयक्रममा दह सुकेपछि त्यस क्षेत्रमुनि रहेका मुहानहरूको पानीको मात्रा घट्दै गएको स्थानीयवासीको गुनासो बढेपछि कार्यालयले वर्षभरि पानी रहने गरी रिचार्ज पोखरी निर्माण गरेको हो।
यस पोखरीको मुख्य उद्देश्य त्यस क्षेत्रका ७ वटा प्राकृतिक मुहानको संरक्षण गर्नु हो। वर्षायाममा संकलित पानीलाई भूमिगत रूपमा पुनः रिचार्ज गराई जलस्रोतको दिगोपना कायम गर्ने उद्देश्यले निर्माण गरिएको पोखरीले मुहानहरूलाई पुनर्जीवित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।कार्यालयले शितगंगा नगरपालिका ,भुमिकास्थान नगरपालिका लगायतका क्षेत्रमा पनि रिचार्ज पोखरी निर्माण यहि आर्थिक वर्षमा निर्माण सम्पन्न गरेको हो ।

रिचार्ज पोखरीबाट स्थानीय बासिन्दाले प्रयोग गर्ने पानीका स्रोत संरक्षण हुनुका साथै वन्यजन्तुका लागि समेत वर्षभरि पानीको उपलब्धता सुनिश्चित हुने विश्वास गरिएको छ। विशेष गरी सुख्खा मौसममा वन्यजन्तुले पानीको अभाव झेल्नुपर्ने समस्या न्यूनीकरण गर्न यस संरचनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्राकृतिक रूपमा अत्यन्त रमणीय स्थानमा निर्माण गरिएको उक्त पोखरीले पर्यापर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने कार्यालयको विश्वास छ। घना वनको बीचमा ढुङ्गाले व्यवस्थित रूपमा बाँध निर्माण गरी तयार गरिएको पोखरी, वरपरको हरियाली वातावरण र प्राकृतिक दृश्यावलोकनले यस क्षेत्रलाई थप आकर्षक बनाएको सुचना अधिकारी खड्का को भनाइ छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले जलस्रोत संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा जलवायु परिवर्तन अनुकूलनका लागि आगामी वर्षहरूमा पनि यस्ता प्रकृतिमैत्री संरचनाहरू निर्माणलाई निरन्तरता दिने जनाएको छ।

















