सागर महत,साउन ०२अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो १वर्षमा ओटीपी को दुरुपयोग गरी एक करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको भन्दै जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
अपरिचित व्यक्तिको फोन, एसएमएस वा सामाजिक सञ्जालमार्फत प्राप्त हुने ओटीपी, बैंक विवरण, एटीएम कार्ड नम्बर, पासवर्ड कसैलाई पनि नदिन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीले आग्रह गर्नुभएको छ।
उहाँका अनुसार ठगी गर्ने समूहले बैंक, सरकारी निकाय वा विभिन्न कम्पनीका कर्मचारी बनेर फोन गरी ओटीपी माग्ने र त्यसैका आधारमा बैंक खाताबाट रकम चोरी गर्ने गरेको पाइएको छ। अर्घाखाँचीमा मात्रै यस्ता घटनाबाट हालसम्म एक करोड रुपैयाँभन्दा बढी रकम ठगी भइसकेको उहाँको भनाइ छ ।
कुनै पनि शंकास्पद फोन वा सन्देश आएमा तुरुन्तै सम्बन्धित बैंक वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन तथा साइबर अपराधबाट जोगिन डिजिटल सुरक्षा सम्बन्धी सावधानी अपनाउन सबैमा प्रहरी नायव उपरीक्षक जिसीले आग्रह गर्नुभएको हो ।

















