सागर महत,सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले असार महिनाको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार असार महिनामा जिल्लाभर १७ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित र १६ वटा अन्य प्रकृतिका मुद्दा रहेका छन्।
फैसला कार्यान्वयनतर्फ ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूले ५ महिना ३ दिन कैद तथा ८ लाख २८ हजार जरिवाना भुक्तानी गर्नुपर्ने थियो।
महिला तथा बालबालिकासँग सम्बन्धित उजुरीतर्फ घरेलु हिंसाका २ उजुरी दर्ता भएका थिए। दुवै उजुरी मिलापत्रमार्फत टुंग्याइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी जिवन लामिछानेले जानकारी दिनुभयो ।
यस्तै असार महिनामा ७ जनाले आत्महत्या गरेका छन्। तीमध्ये ६ जनाले झुन्डिएर र १ जनाले हाम फालेर आत्महत्या गरेका हुन्। मृतकमध्ये ३ महिला र ४ पुरुष रहेका छन्।
यस्तै १३ जना हराएका र १२ जना फेला परेको उहाँको भनाइ छ ।
सवारी दुर्घटनातर्फ १ वटा दुर्घटना हुँदा १ जना घाइते भएका छन्। ट्राफिक कारबाहीबाट ५सय२७ सवारी साधन कारबाहीमा पर्दा ६ लाख ६६ हजार राजस्व संकलन भएको छ।
लागुऔषध नियन्त्रणतर्फ १ हजार १६७ ग्राम ७ मिलिग्राम गाँजा सहित ३ जना पक्राउ परेको प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले बताउनुभयो ।

















