‘म’ : हाम्रो कथा अरुले लेखिदिएर हुँदैन, आफैँ लेख्छौँ

काठमाडौँ– उदयपुरकी ज्ञानु खत्री, उनकी आमा र बहिनी मकै गोडिरहेका बेला उनका काका टुप्लुक्क आइपुग्छन् । आमाले काकालाई सोध्छिन्, ‘चप्पल त राम्रा लगाउनुभएछ, कहाँबाट किनेर ल्याउनुभयो ?’ ज्ञानुका आँखा पनि काकाले लगाएको म्याजिक चप्पलमा जान्छ । तर, काकाले जवाफ दिन्छन्, ‘यो चप्पल तपाईंहरूले किनेर लगाउन सक्नुहुन्न ।’

यही जवाफका कारण तीन आमाछोरी पाँच दिन हिँडेर पुग्ने बेल्टार बजार जान्छन् । त्यहाँबाट ६ रुपैयाँ किलो नुन किनेर घरमा ल्याएर २० रुपैयाँ किलोमा बेच्छन् । नुन व्यापार गरेरै उनीहरूको म्याजिक चप्पल लगाउने सपना पूरा हुन्छ ।

ज्ञानुले लामो समय आफ्नो यो कथा आफैँसँग राखिन् । त्यो भोगाइ अरुका लागि प्रेरणा बन्न सक्ला, उनले सोचेकी थिइनन् । तर, उनको ‘म्याजिक चप्पल’ कथा पुस्तक ‘म’मार्फत सार्वजनिक भएको छ । त्यही पुस्तक विमोचन कार्यक्रमका लागि ज्ञानु उदयपुरबाट काठमाडौँ आएकी छिन् । कार्यक्रममा कथाको सन्दर्भ कोट्टिदा उनी निकै भावुक हुन्छिन् । ‘आजभन्दा १७/१८ वर्षअगाडि एक जोर म्याजिक चप्पल लगाउन निकै संघर्ष गर्नुपरेको थियो,’ उनले भनिन्, ‘त्यही अनुभव समेटेर मैले मेरो कथा लेखेको छु ।’

उक्त पुस्तकमा काठमाडौँकी सावित्री थापाले पनि आफ्नो मातृत्वको अनुभव समेटेर कथा लेखेकी छिन् । उनलाई सुरुमा आफ्नै कथा कसरी लेख्ने होला भन्ने लागेको थियो । तान नेपाल (लूम) संस्थासँग जोडिएपछि भने उनलाई लेख्ने ऊर्जा मिल्यो । ‘मैले आफ्नो कथा आफैँले लेख्न सकौँला भनेर कहिल्यै सोचेको थिइनँ,’ उनले सुनाइन्, ‘सबैको कुरा सुन्दै गएपछि मलाई फरक तरिकाले आफ्नो कथा लेख्ने ऊर्जा मिल्यो ।’ उनको कथा ‘प्रश्नहरूको घेरामा मातृत्व’ पनि कथा संग्रह ‘म’मा प्रकाशित भएको छ । ‘आफ्नो कथा आफैँले लेख्दा छुट्टै अनुभव हुँदो रहेछ,’ उनले भनिन्, ‘अरुले लेखिदिएको भए त्यसमा अरुकै दृष्टिकोण बढी आउँथ्यो । मेरो कथामा मेरो श्रीमान्, बच्चा सबै छन् । तर, त्यहाँ उनीहरूको होइन मेरो दृष्टिकोण, अनुभव र भोगाइ उल्लेख गरिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation