अर्घाखाँची ।फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिँदै जाँदा अर्घाखाँचीमा हाल सम्म ७ जनाको उम्मेदवारको नाम सार्वजनिक भएको छ ।जसअन्तर्गत नेपाली कांग्रेसका विष्णु प्रसाद खनाल(मुस्कान )नेकपा एमालेबाट पिताम्वर भुसाल , नेपाली कम्युनिस्ट पाटी का राम बहादुर चौहान,राष्ट्रिय स्वतन्त्र पाटीका हरी प्रसाद भुसाल ,राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल ,नेकपा (माओवादी) खेम घर्ती र स्वतन्त्रबाट रवि शाहले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिने भएका हुन ।जस अनुसार आज जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा गइ मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ ।उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । साथै वैयक्तिक विवरण फाराम भरी सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ ।
प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारले १० हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा यो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

















