सागर महत,चैत्र ९अर्घाखाँची । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको आयोजनामा स्वर्ण विन्दु प्राशन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सन्धिखर्क मा सम्पन्न भएको छ।कार्यक्रममा १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि र पाचन शक्ति सुदृढ गर्न स्वर्ण विन्दु प्राशन प्रभावकारी हुने जानकारी दिइएको थियो।
कार्यालय प्रमुख कमल प्रसाई आचार्यका अनुसार, चैत्र १४ गतेदेखि सन्धिखर्कस्थित कार्यालयबाट सेवा प्रदान गरिनेछ। उक्त कार्यक्रमअन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ का ९ सय ८७ बालबालिकालाई स्वर्ण विन्दु प्राशन खुवाइनेछ। साथै, यस क्षेत्रका सबै बालबालिकालाई समेट्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, शिक्षक, कर्मचारी, महिला तथा पत्रकारलगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।कार्यक्रमको सहजीकरण बिजौरी, दाङ स्थित लुम्बिनी प्रादेशिक आयुर्वेद चिकित्सालयका कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा। अर्जुनराज शर्माले गर्नुभएको थियो।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष माधव श्रेष्ठ, अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा। खगेन्द्र आचार्यलगायतको सहभागिता रहेको थियो।
त्यसैगरी, आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका महिला सदस्य कमला खनाल भण्डारी र नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम पशुपति पन्थीको सञ्चालनमा सम्पन्न भएको हो।

















