सागर महत,चैत्र १२ अर्घाखाँची ।घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा शितगंगा नगरपालिका–१३ मा विगतका आर्थिक वर्षहरूमा सीप विकास तालिम प्राप्त गरेका सहभागीहरूसँग अन्तरक्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला सम्पन्न भएको छ। सोही कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख दुर्गा न्यौपानेले प्राप्त सीपको सदुपयोग गर्दै उद्यमशीलतामा जोडिन आग्रह गर्नुभयो। उहाँले सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके आत्मनिर्भर बन्न सकिने बताउनुभयो।

कार्यक्रममा व्यवसाय दर्ता प्रक्रिया, वित्तीय व्यवस्थापन तथा अन्य आवश्यक विषयमा समेत प्रशिक्षण दिइएको थियो। विशेषगरी केही महिना अघि टायल तथा मार्बल सम्बन्धी तालिम लिएका १५ जना सहभागीलाई सिटिइभीटी को प्रमाणपत्र प्रदान गरिएको न्यौपानेको भनाइ छ ।

यस्तै सिप विकास तालिमले व्यक्तिगत क्षमता विकास गर्ने,सिप सिकी उत्पादन संगै स्वरोजगार बन्न,आयआर्जन माध्यमबाट आत्मनिर्भर,उद्योग व्यवसायहरुमा बृद्वि गर्न टेपा पुगेको उहाँको भनाइ छ ।

शितगंगा नगरपालिका–१३ का वडा अध्यक्ष दुर्गा बहादुर बिसीले तालिमबाट सिकेको सीपलाई व्यवहारमा लागू गरी स्वरोजगार बन्न आग्रह गर्नुभयो।पछिल्लो समय बढ्दै गएको निरासा समुदाय स्तरबाट समधान गर्न सकिने बताउनुभएको छ ।

सामाजिक संजालको हल्लाको पछि नलाग्न सुझाव दिर्दै उद्यमी बन्न चाहाना राख्नेलाई वडाले बजारीकरण गर्न कुनै कन्जुसाइ नगर्ने भनाइ राख्नुभएको थियो ।

वडा सदस्य टानबहादुर बिसी,सहभागीताको तर्फबाट रामबहादुर बिसीले मन्तव्य राखेको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सुचना अधिकारी हुमबहादुर विकको संचालनमा सम्पन्न भएको हो ।


















