भुमिकास्थानमा वन डढेलो न्यूनीकरण र टिमुर खेती प्रवर्द्धनमा जोड

अर्घाखाँची ,चैत्र १९ । डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा सब—डिभिजन वन कार्यालय तथा स्थानीय तहका सरोकारवालाबीच अन्तर्क्रिया गोष्ठी भुमिकास्थान नगरपालिकामा सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले पछिल्लो समय वन क्षेत्रमा बढ्दै गएको आगलागीको जोखिम न्यूनीकरण गर्न सबै निकायको समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले वन क्षेत्र मात्र नभई आफ्नै बाँझो जमिनमा टिमुर लगायतका खेती गरेर आम्दानी गर्न सकिने तथा बाँदरजस्ता जंगली जनावरबाट कम क्षति हुने खेतीतर्फ किसानलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो।
उपप्रमुख बालकृष्ण बन्जाडेले कार्यक्रम निकै प्रभावकारी रहेको बताउँदै जनप्रतिनिधिहरूलाई वनसम्बन्धी नियमबारे थप स्पष्टता आएको बताउनुभयो। उहाँले व्यक्तिगत घर निर्माणका लागि वडाको सिफारिसमा वनबाट काठ खरिद गर्न सकिने जानकारीले जनताको गुनासा समाधान हुने विश्वास व्यक्त गर्नुभएको हो।

डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायणदेव भट्टराईले वन क्षेत्रको महत्व, टिमुर खेतीबाट हुने सम्भावित आम्दानी, यसको बजारीकरण, बिरुवा रोपण तथा व्यवस्थापनका विषयमा जानकारी गराउनुभयो। साथै, निजी वन र आवादी क्षेत्रका काठ–दाउरा व्यवस्थापन तथा आगलागी जोखिम न्यूनीकरणका उपायबारे पनि प्रकाश पार्नुभयो। उहाँका अनुसार टिमुर खेती प्रवर्द्धनका लागि मापदण्ड पूरा गरेका कृषकलाई ८ हजार बिरुवा वितरण गर्ने लक्ष्य रहेको छ भने सिन्कौलीका २५ हजार बिरुवा वितरण गर्ने योजना समेत रहेको छ।
सूचना अधिकारी केशर खड्काले वन डढेलो भएको क्षेत्र पहिचान गर्न ‘ड्रोन’ प्रयोग गरिएको तथा नियन्त्रणका लागि मिनी दमकल खरिद गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा नगर प्रवक्ता बाबुराम पन्थी सुनार, वडा अध्यक्षहरू जयगोपाल श्रेष्ठ, प्रेमनारायण बेल्बासे, रामचन्द्र ढुंगाना, खगेश्वर पन्थीलगायतले जंगली जनावरबाट हुने बाली क्षतिको उचित क्षतिपूर्ति मापदण्ड राज्यले बनाउनुपर्नेमा जोड दिएका थिए।
भुमिकास्थान नगरपालिका–५ स्थित बुढीपोले समाखोरिया सामुदायिक वनका अध्यक्ष राजु बिकले यस्ता कार्यक्रमबाट वन व्यवस्थापनसम्बन्धी धेरै जानकारी प्राप्त भएको बताउनुभयो।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र प्रसाद चौधरी, योजना शाखा प्रमुख हरिश्चन्द्र भुसाल, कम्प्युटर अधिकृत शेषकान्त घिमिरे लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation