सागर महत,चैत्र २५ अर्घाखाँची ।
अर्घाखाँचीमा सञ्चालन हुन लागेको आर्थिक गणनाका लागि सही र यथार्थ तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको छ। जिल्ला आर्थिक गणना संयोजक बाबुराम न्यौपानेले सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताउनुभएको हो।उहाँका अनुसार वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणना २ महिना ५ दिनसम्म सञ्चालन हुनेछ। यस गणनाबाट जिल्लाको वास्तविक आर्थिक अवस्था उजागर हुनुका साथै रोजगारी, व्यापार–व्यवसाय लगायत क्षेत्रको स्पष्ट विवरण प्राप्त हुने अपेक्षा गरिएको छ।

हालसम्मको प्रगति, तथ्यांक संकलनको अवस्था तथा देखिएका चुनौतीबारे जानकारी दिँदै उहाँले बाँकी कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यो अभियान सबैको साझा भएकाले सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको पनि उहाँले बताउनुभयो।
जिल्लामा आर्थिक गणनाका लागि २४ जना गणक र ३ जना सुपरिवेक्षक खटाइने भएका छन्। जिल्लाका ६ वटै पालिकामा दर्ता भएका विवरण तथा विभिन्न आर्थिक क्रियाकलापको गणना गर्न गणक परिचालन गरिनेछ।
यसका लागि चैत्र २६ गतेदेखि चैत्र ३० गतेसम्म सन्धिखर्कमा गणकलाई तालिम प्रदान गरिने जिल्ला आर्थिक गणना सह–संयोजक दिलिप केसीले जानकारी दिनुभयो। उहाँका अनुसार इच्छुक व्यक्तिले आफैंले पनि आर्थिक गणनाको विवरण भर्न सक्नेछन् र त्यसका लागि आवश्यक सहजीकरण गरिनेछ।

















