सागर महत,चैत्र २७अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी बैठक जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सन्धिखर्कमा सम्पन्न भएको छ।बैठकले जिल्लामा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै डढेलो नियन्त्रणलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो।

उहाँका अनुसार अबका दुई महिनासम्म जुन पालिकामा दमकल आवश्यक पर्छ, उक्त पालिकाले दमकल सञ्चालनका लागि आवश्यक इन्धन खर्च व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको छ। साथै, विपत्का घटनामा सबै सरोकारवाला निकाय एकजुट भएर काम गर्न उहाँले आग्रह गर्नुभयो।
हाल सन्धिखर्क नगरपालिकामा दमकल सेवा उपलब्ध रहेको छ भने डिभिजन वन कार्यालयमा मिनी दमकल रहेको छ। भुमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका र पाणिनी गाउँपालिकामा दमकल भए पनि ती सञ्चालनमा नरहेको अवस्था रहेको बताइएको छ। यस्तो अवस्थामा पालिकाबीच समन्वय आवश्यक रहेको बैठकमा जोड दिइयो।

सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले आफ्नो नगरपालिकाको दमकल अन्य क्षेत्रमा प्रयोग हुँदा सम्बन्धित पालिकाले इन्धन खर्च व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।
यस्तै, शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलले विपतका घटनामा सबै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायणदेव भट्टराईले जिल्लाका विभिन्न पालिकामा डढेलो नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले डढेलो जोखिम क्षेत्र, यसको नियन्त्रणका उपाय, सम्भावित क्षति, परिचालित दस्ता तथा कानुनी कारबाही सम्बन्धी विषयमा प्रस्तुति दिनुभएको थियो।

आगलागी भएको क्षेत्रमा प्रहरीलाई सुचना प्राप्त हुन साथ जोखिम क्षेत्रमा जाने गरेको प्रहरी नायव उपरिक्षक दिवस जिसीको भनाइ छ ।
कार्यक्रममा राजनितिक दलबाट रास्वपा बाट राजु खड्का,नेपाली कांग्रेसका कृष्णप्रसाद खनाल,एमालेका लिला विक,उद्योग बाणिज्य संघ तर्फबाट तुल्सीराम पौड्ेलले विपत जोखिम न्युनिकरणमा प्रभावकारी योजना बनाएर सबै एक भएर लाग्ने विषयमा जोड दिनुभएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि ,कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको कार्यक्रममा सिनियर वन अधिकृत गणेश थारुले पनि जिल्लामा आगलागीको अवस्थाको बारेमा जानकारी गराउन सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टाराईको संचालनमा सम्पन्न भएको हो ।



















