सागर महत,चैत्र २९ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९, अर्घा निवासी रणबहादुर गन्धर्वका अनुसार पछिल्लो समय सारङ्गी पेशा लोप हुने अवस्थामा पुगेको छ। परम्परागत रूपमा बाहुबाजेले गर्दै आएको यो पेशा अहिले आधुनिक प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण धराशायी बन्दै गएको उनको गुनासो छ।
गाउँदेखि शहरसम्म सारङ्गीको माध्यमबाट गीत–संगीत प्रस्तुत गर्दै, मेलापातका भाका, विरहका कथा र लोकसंस्कृतिमा आधारित गीत गाएर जीविकोपार्जन गर्दै आएका गन्धर्व समुदाय अहिले कठिन अवस्थामा पुगेका छन्।
रणबहादुरका अनुसार पहिले गीत गाएबापत मानिसहरूले चामल, गहुँ, मकै, कोदो जस्ता अन्नबाली दिने चलन थियो। पछि त्यो परम्परा हराउँदै जाँदा नगद दिने प्रचलन बढेको थियो। तर अहिले भने यस पेशाप्रति मानिसहरूको चासो घट्दै गएको छ।
“अहिलेको नयाँ परिवेशमा सारङ्गी बजाएर मात्र दैनिकी चलाउन निकै गाह्रो भएको छ,” उनले भने, “हाम्रो पेशामा कसैको ध्यान छैन।”
उनले परम्परागत कला र संस्कृतिको संरक्षणका लागि राज्य र सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

















