सन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले जिल्लाका सञ्चारमाध्यममा देखिएका जटिल समस्याबारे जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालामार्फत ६ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ।सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापनलाई सीमित गर्ने सरकारको निर्णयविरुद्ध महासंघको केन्द्रीय समितिको परिपत्रअनुसार महासंघका जिल्ला अध्यक्ष गणेश खनालले नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको बताउनुभयो।
उहाँका अनुसार यसका कारण श्रमजीवी पत्रकारहरूले नियमित पारिश्रमिक तथा प्रचलित कानुनअनुसारका सेवा–सुविधा प्राप्त गर्न सकेका छैनन्। साथै सञ्चारमाध्यमको दिगोपनामा समेत गम्भीर चुनौती सिर्जना भएको समेत बताउनुभएको हो ।
उहाँले सोही विषयमा पालिका तहसम्म ध्यानाकर्षण गराइदिन आग्रह गर्नुभएको थियो। जिल्ला समन्वय समिति प्रमुख कोइरालाले पनि जिम्मेवार ढंगले उक्त ज्ञापनपत्र पालिकासम्म पठाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

















