सन्धिखर्क ।अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले जिल्लाका महत्त्वपूर्ण विकास आयोजनाहरू अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्घाखाँची तीन वर्षसम्म सांसद विहीन हुँदा विकासका काम ठप्प भएको बताउनुभएको हो ।बैठकमा बोल्दै भुसालले नौमुरे आयोजना, अर्घा भगवती विमानस्थल, सडक पूर्वाधार, सिँचाइ र खानेपानीको दर्जनौँ आयोजनाहरू बजेट र रेखदेखको अभावमा अलपत्र परेको उल्लेख गर्नुभयो । निर्माणाधीन विमानस्थल अहिले गौचरणमा परिणत भएको र खानेपानीको ट्याङ्कीहरू फुट्न थालेको उहाँको भनाइ छ । ‘पाइपमा पानी होइन, कमिला हिँड्न थालेका छन् । यो गुनासो कहाँ गएर सुनाउने सभामुख महोदय ?’ उनले प्रश्न गर्नुभयो।
सांसद भुसालले जिल्लामा वन्यजन्तुको आतङ्कका कारण नागरिकहरू विस्थापित हुने अवस्था आएको समेत बताउनुभयो । सबैतिरबाट खेदिएका अर्घाखाँचीबासीलाई अहिले बाँदर र बँदेलले घरबाटै खेद्न सुरु गरेको उहाँको भनाइ थियो ।
किसानको पीडा सुनाउँदै उहाँले भन्नुभयो ‘पहिलो कुरा चराले खेती उम्रन दिँदैन, जेनतेन उम्रिए मृगले हुर्कन दिँदैन । जसोतसो हुर्किए बँदेलले फल लाग्न दिँदैन र भाग्यले फल लागिहाले बाँदरले पाक्न दिँदैन । उहाँले वन्यजन्तुको समस्या समाधान गर्न र अलपत्र परेका विकास निर्माणका कामलाई तत्काल अगाडि बढाउन सरकारसँग माग गर्नुभयो ।

















