सागर महत,जेठ १६ अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले उत्कृष्ट ३ जना उद्यमीलाई सम्मान गरेको छ। सन्धिखर्कमा आयोजित विगतका आर्थिक वर्षमा सीप विकास तालिम प्राप्त व्यक्तिहरूसँगको अन्तरक्रिया तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा एक उद्यमी बराबर २० हजार रुपैयाँका दरले सम्मान गरिएको हो। उक्त रकममा सरकारको नियमअनुसार कर कट्टी हुने जनाइएको छ।
सम्मानित हुनेमा सन्धिखर्क नगरपालिका–१ स्थित स्नेहा ब्युटी पार्लरकी सञ्चालक मञ्जु केसी, पाणिनी गाउँपालिका–७ स्थित अडगुरी मःम सेन्टरकी विमला विक तथा सन्धिखर्क नगरपालिका–१ स्थित न्यु स्वर्गद्वारी स्कुल युनिफर्म उद्योगका तारा बन्जाडे रहेका छन्। कार्यालय प्रमुख दुर्गा न्यौपानेका अनुसार उद्यमशीलता विकास, स्वरोजगार प्रवर्द्धन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको हो।

कार्यालयले २०६८ सालदेखि हालसम्म २ सय ५० वटा सीपमूलक तालिम सञ्चालन गरेको जनाएको छ। ती तालिमअन्तर्गत सिलाइ–कटाइ, बुटिक, फेसन डिजाइन, ढाका तथा हस्तकला, अचार, जुस, ब्युटी पार्लर, डल तथा बाँसका सामग्री निर्माण, मन्टेश्वरी तालिम, मार्बल लगाउने लगायतका तालिम समावेश रहेका छन्। यी तालिममार्फत जिल्लाभर ३ हजार ४ सय १७ जना लाभान्वित भएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले उद्यमशीलताको विकासले आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले सीपको अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने विषयमा पनि जोड दिनुभयो।

यस्तै, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बढ्दो बेरोजगारी न्यूनीकरण गर्न सरकारले लगानी गरेका तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो। पछिल्लो समय सीप सिकेर पनि त्यसको सदुपयोग नगर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उहाँले यसको समाधानका लागि सबै निकाय सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्र तथा चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोककुमार श्रेष्ठले पनि सीपको सदुपयोग गर्दै रोजगारी र उद्यममा जोडिन आग्रह गर्नुभएको थियो।

















