समानुपातिकमा झन् धेरै उलटफेर

काठमाण्डौं ।गत निर्वाचनको पहिलो, दोस्रो र तेस्रो शक्तिलाई प्रत्यक्षमा धेरै पछाडि पार्दै १२५ सिट जितेको रास्वपाले समानुपातिकमा पनि उनीहरूलाई झन् ठुलो क्षति पुर्‍याएको छ । प्रत्यक्षभन्दा समानुपातिकमा रास्वपाले झन्डै साढे पाँच लाख बढी मत पाउँदा कांग्रेस, एमाले र नेकपा प्रत्यक्षको तुलनामा समानुपातिक मतमा पनि खुम्चिएका छन् ।
ठुला दलका शीर्ष नेताले दशकौँदेखि जित्दै आएका क्षेत्र र उनीहरूका परम्परागत किल्ला भत्काउँदै अभूतपूर्व सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फसमेत प्रत्यक्षभन्दा झन्डै साढे पाँच लाख बढी मत बटुलेको छ । वर्षौँदेखि अटुट मानिएका शेरबहादुर देउवा र केपी ओलीजस्ता नेताका गढ एकपछि अर्को ढल्दा कांग्रेस र एमालेले प्रत्यक्ष मात्र होइन, समानुपातिक मतमा समेत ठुलो क्षति व्यहोरेका छन् । निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र राप्रपाको मत समानुपातिकमा भन्दा प्रत्यक्षमा धेरै छ ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले ०४८ देखि जित्दै आएको डडेल्धुरामा रास्वपाका डा। तारा जोशी १९ हजार १३१ मतसहित विजयी बन्दा कांग्रेसका नैनसिंह महर १२ हजार १२१ मतमै सीमित भए । त्यस क्षेत्रबाट रास्वपाले १९ हजार २६८ मत पाउँदा कांग्रेसले ११ हजार ८५१ मत पायो । जुन प्रत्यक्षको भन्दा २७० मत कम हो । जबकि रास्वपाले प्रत्यक्षमा भन्दा समानुपातिकमा १३७ मत बढी पाएको छ ।

डडेल्धुराकै जस्तो अवस्था कांग्रेसको अर्को गढ काठमाडौं १ मा देखिएको छ । ०६४ यता निरन्तर कांग्रेसले जित्दै आएको काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शना १५ हजार ४५५ मत ल्याएर विजयी बनिन् । प्रतिद्वन्द्वी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाए । जबकि रास्वपाले समानुपातिकमा प्रत्यक्षमा भन्दा धेरै बढी १८ हजार ८३० मत पाउँदा कांग्रेसले भने प्रत्यक्षमा भन्दा पाँच हजार ५६० मत कम पायो । कांग्रेसले प्रत्यक्ष र समानुपातिकमा पाएको मतको अन्तर ८०४ देखिन्छ भने रास्वपाले भने प्रत्यक्षमा भन्दा तीन हजार ३७५ मत बढी पाएको छ ।

एमालेको गढ भनेर चिनिने झापामा रास्वपाले कीर्तिमानी जित हासिल गरेको छ । झापा ५ मा बालेन्द्र शाह बालेन ६८ हजार ३४८ मतसहित विजयी बन्दा ०६४ बाहेक ०४८ देखि लगातार जित्दै आएका एमाले अध्यक्ष केपी ओली १८ हजार ७३४ मत ल्याएर पराजित भए । त्यस क्षेत्रमा रास्वपाले समानुपातिकमा ६२ हजार २५८ मत पाउँदा एमालेले ओलीले पाएभन्दा कम १७ हजार ६२३ मत पाएको छ । अन्तर एक हजार १११ छ ।

झापा २ मा निवर्तमान सभामुख देवराज घिमिरे निवर्तमान उपसभामुख इन्दिरा रानासँग पराजित भएका छन् । रानाले ६० हजार ११० मतसहित विजयी हासिल गर्दा घिमिरे ११ हजार ३६८ मत ल्याएर पराजित बनेका छन् । त्यस क्षेत्रमा रास्वपाले ५८ हजार १०५ मत पाउँदा एमालेले ११ हजार २७३ मत पाएको छ । यो क्षेत्रमा पनि एमालेले प्रत्यक्षमा भन्दा समानुपातिकमा केही कम मत पाएको छ ।

त्यस्तै, कांग्रेसको गढका रूपमा स्थापित काठमाडौं ४ भत्काएर रास्वपाका पुकार बम २९ हजार १४२ मतसहित विजयी भए भने प्रतिद्वन्द्वी कांग्रेसका सचिन तिमल्सिनाले आठ हजार ८२४ मत पाए । यो क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले प्रत्यक्षमा पाएभन्दा बढी २९ हजार ९३५ मत पाउँदा कांग्रेसले भने प्रत्यक्षमा पाएभन्दा कम ७ हजार नौ सय मत पायो ।

उता, एमालेको गढका रूपमा चिनिने रुपन्देही २ विष्णु पौडेल रास्वपाका सुलभ खरेलसँग पराजित भए । पौडेलले १२ हजार ८६१ मत पाउँदा खरेल ५६ हजार ५५० मत पाएर विजयी भए । यो क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले ५६ हजार २७२ मत पाउँदा एमालेले १० हजार ८९८ मत पायो । पौडेलले पाएभन्दा समानुपातिकमा एमालेले दुई हजारहाराहारी कम मत पायो ।

रुपन्देही १ मा रास्वपाले समानुपातिकमा ५५ हजार १३२ मत पाउँदा एमालेले सात हजार १५ मत मात्र पाएको छ । छविलाल विश्वकर्माले जित्दै आएको एमालेको गढमा यसपटक प्रत्यक्षमा तेस्रो भएको छ । रास्वपाका सुनील लम्साल ५४ हजार ८४५ मत ल्याएर विजयी बन्दा कांग्रेसका हिराबहादुर खत्री ११ हजार ९८२ मतमै सीमित भए । यो क्षेत्रमा कांग्रेसले प्रत्यक्षमा भन्दा कम १० हजार ३८ मत पाएको छ ।

त्यस्तै, ०६४ यता लगातार एमालेले जित्दै आएको गुल्मी २ मा रास्वपाका गोविन्द पन्थीले एमालेका गोकर्ण विष्टलाई पराजित गरेका छन् । पन्थीले १६ हजार ९६७ मत पाएर जित्दा विष्टले १६ हजार ४०६ मत पाएका छन् । यो क्षेत्रमा समानुपातिकमा प्रत्यक्षमा भन्दा धेरै बढी २१ हजार १९१ पाउँदा एमालेले भने कम अर्थात १४ हजार ७१५ मत मात्र पाएको छ ।

उता, तत्कालीन माओवादीको गढ मानिने सिन्धुली २ पनि यसपटक रास्वपाले भत्काएको छ । रास्वपाबाट आशिष गजुरेल १७ हजार ९४० मत पाएर विजयी बन्दा नेकपाका लेखनाथ दाहालले १४ हजार ७८० मत पाएका छन् । त्यहाँ समानुपातिकमा रास्वपाले १८ हजार ९११ मत ल्याउँदा नेकपाले पनि कांग्रेस–एमालेले जस्तै कम अर्थात् ११ हजार २७५ मत ल्याएको छ ।

त्यस्तै, कांग्रेसको गढ मानिने नुवाकोट १ मा रास्वपाका विक्रम तिमल्सिना २२ हजार ६०९ मत पाएर विजयी भएका छन् । प्रतिद्वन्द्वी डा। प्रकाशशरण महतले १८ हजार ५९७ मत पाएका छन् । समानुपातिकमा रास्वपाले २४ हजार ७६१ र कांग्रेसले १५ हजार ६०५ मत पाएको छ । यो क्षेत्रमा पनि समानुपातिकमा कांग्रेसले प्रत्यक्षमा भन्दा झन्डै तीन हजार मत कम पाएको छ ।

त्यस्तै, लामो समयदेखि नै एमालेले जित्दै आएको पाल्पा १ मा कांग्रेसका सन्दीप राना १८ हजार ३३६ मत ल्याई विजयी बन्दा एमालेका नारायण आचार्य १६ हजार ८१९ मै सीमित बने । त्यो क्षेत्रमा कांग्रेसले समानुपातिकमा १३ हजार १७१ मत पाउँदा एमालेले १५ हजार १६५ पायो । तर, तेस्रो स्थानमा पराजित रास्वपाले भने प्रत्यक्षमा जित्ने दल कांग्रेसले भन्दा पनि धेरै अर्थात् १९ हजार ७३८ मत पाएको छ ।

एमालेकै गढ मानिने पाल्पा २ मा रास्वपाका माधव थापाले २६ हजार ७३६ मत ल्याएर जितेका छन् भने कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत पाएका छन् । समानुपातिकमा रास्वपाले ३० हजार ७१४ र एमालेले तेस्रो मत नौ हजार ८०१ मत पाएको छ । यो क्षेत्रमा कांग्रेसले १० हजार ८३५ मत पाएको छ । उसको यो मत पनि प्रत्यक्षमा भन्दा दुई हजार कम छ ।

त्यस्तै, ०४८ देखि नेमकिपाको गढ भक्तपुर १ मा रास्वपाका रुकेश रञ्जितले ३३ हजार ४६६ मत ल्याएर जिते । सो क्षेत्रमा प्रतिद्वन्द्वी नेमकिपाका प्रेम सुवाल २८ हजार १४७ मै सीमित भए । त्यहाँ समानुपातिकमा रास्वपाले प्रत्यक्षमा भन्दा नौ हजार बढि अर्थात् ४२ हजार ४४० र नेमकिपाले भने प्रत्यक्षमा भन्दा आठ हजार कम अर्थात् २० हजार २२९ मत पाएको छ ।

उता एमालेको गढ भनेर चिनिँदै आएको पर्वतमा रास्वपाका सागर भुसालले २६ हजार ५६१ मत पाएर जिते भने प्रतिद्वन्द्वी अर्जुन जोशीले १५ हजार ९५४ मत ल्याए । समानुपातिकतर्फ रास्वपाले ३० हजार ७३५, कांग्रेसले १३ हजार ८७४ र एमालेले १३ हजार ३४० मत ल्याएको छ । समानुपातिकमा रास्वपाले प्रत्यक्षको भन्दा बढी मत पाउँदा कांग्रेस र एमालेले भने कम पाएका छन् ।

एमालेले लगातार जित्दै आएको सिराहा ३ बाट ३२ हजार २४९ मत ल्याएर रास्वपाका शम्भुकुमार यादव विजयी भए भने एमालेका लीलानाथ श्रेष्ठ १० हजार १५६ मतमै सीमित भए । यो क्षेत्रमा रास्वपाले समानुपातिकमा प्रत्यक्षमा भन्दा बढी ३७ हजार ३५८ र एमालेले तेस्रो मत आठ हजार ६५७ मत ल्याएको छ । दोस्रो मत कांग्रेसले नौ हजार ५० पाएको छ ।

०७० यता लगातार एमालेले जित्दै आएको बैतडीमा रास्वपाका हरिमोहन भण्डारी २२ हजार १३४ मत पाएर विजयी भए । प्रतिद्वन्द्वी कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत पाए । समानुपातिकमा रास्वपाले १८ हजार ८३०, दोस्रो समानुपातिक मत भने एमालेले १६ हजार ४९ र कांग्रेसले १५ हजार ९०७ मत पायो । कांग्रेस र एमाले दुवैले समानुपातिकमा यो जिल्लामा पनि प्रत्यक्षतर्फभन्दा कम मत ल्याएका छन् ।

त्यस्तै, एमालेको गढका रूपमा चिनिने काभ्रे २ यो निर्वाचन रास्वपाले जितेको छ । यो क्षेत्रमा ०७४ देखि दुई निर्वाचन पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा देशकै दोस्रो ठुलो मत ल्याएर विजयी बनेका थिए । यो निर्वाचनमा भने रास्वपाका बदनकुमार भण्डारी ५३ हजार ३४४ मतसहित विजयी बन्दा कांग्रेसका मधु आचार्य १७ हजार ८६८ मतमै सीमित रहेर दोस्रो बने । समानुपातिकमा रास्वपाले ५५ हजार ५३३ र कांग्रेसले १४ हजार ७४५ तथा एमालेले १२ हजार ७८२ मत पायो । यहाँ पनि ठुला दुई पार्टीले प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत पाएका छन् ।

कांग्रेसको गढ भनेर चिनिने मोरङ ६ मा डा। शेखर कोइराला १२ हजार ८५० मत पाएर हारेका छन् । उनलाई रास्वपाकी रुविना आचार्यले ५५ हजार ५१३ मत पाएर पराजित गरेका थिए । सो क्षेत्रमा रास्वपाले समानुपातिकमा ५४ हजार पाँच सय र कांग्रेसले ११ हजार ९६४ मत पायो । यहाँ पनि कांग्रेसले समानुपातिकमा प्रत्यक्षमा भन्दा कम मत पाएको छ ।

एमालेको गढ चिनिने अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसालले ३५ हजार २३ मत पाएर विजयी भए भने एमालेका पीताम्बर भुसालले २२ हजार ६४९ मत पाएर दोस्रो बने । समानुपातिकमा रास्वपाले ३९ हजार ८५ र एमालेले २० हजार ४५१ मत पाए । रास्वपाले समानुपातिकतर्फ मत बढाउँदा एमालेले भने दुई हजारजति मत प्रत्यक्षमा भन्दा कम पाएको छ ।

झापा ३ मा ०७४ यता राप्रपाका राजेन्द्र लिङ्देन विजयी बन्दै आएकोमा रास्वपाका प्रकाश पाठकले गढ भत्काउँदै ३८ हजार ६४७ मत पाए । राप्रपाका लिङ्देन १७ हजार २९४ मतमै सीमित भए । समानुपातिकमा रास्वपाले ३९ हजार ५९६ मत ल्याउँदा राप्रपाले १५ हजार ९५ मत पायो ।

जसपाको गढ मानिने सप्तरी ३ मा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै रास्वपाका अमरकान्त चौधरी ३२ हजार ८७५ मत पाएर विजयी बने । जहाँ यादवले १५ हजार २३९ मत पाएका थिए । सो क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ ३६ हजार १५३ र जसपाले १२ हजार ५६९ मत पाएको छ ।

नेमकिपा भक्तपुर १ मा दोस्रो
विगतमा जित्दै आएको भक्तपुर १ मा रास्वपाका रुकेश रञ्जित ३३ हजार ४३६ मत ल्याएर विजयी बन्दा नेमकिपाका प्रेम सुवाल २८ हजार १४७ मतमै सीमित रहे । समानुपातिकतर्फ पनि यहाँ नेमकिपा दोस्रो रह्यो । रास्वपाले ४२ हजार ४४० मत पाउँदा नेमकिपाले भने २० हजार २२९ मत पाएको छ ।

कोशीमा ठुला दललाई श्रम संस्कृतिको धक्का
कोशीमा ठुला दललाई रास्वपाले मात्र होइन, हर्क साम्पाङको श्रम संस्कृति पार्टीले ठुलै झड्का दिएको छ । कोशीका १४ जिल्लामध्ये पाँचथर, इलाम, भोजपुर र खोटाङमा श्रम संस्कृति समानुपातिकतर्फ पहिलो स्थानमा छ । र, उदयपुरमा रास्वपापछि दोस्रोमा श्रम संस्कृति छ । यसबाहेक कोशीका समग्र जिल्लामा तेस्रो र चौथो रहे पनि केही निर्वाचन क्षेत्रमा भने पहिलो स्थानमा छ । सुनसरी १ मा पहिलो स्थानमा छ । त्यस्तै, झापा १ तथा मोरङ १ र ३ मा दोस्रो स्थानमा छ ।

०७९ को समानुपातिक गणित
०७९ को निर्वाचनमा समानुपातिकतर्फ पहिलो दल बनेको एमालेले २८ लाख ४५ हजार ६४१, कांग्रेसले २७ लाख १५ हजार २२५, तत्कालीन माओवादीले ११ लाख ७५ हजार ६८४, रास्वपाले ११ लाख ३० हजार ३४४ र राप्रपाले पाँच लाख ८८ हजार ८४९ मत पाएका थिए । त्यतिवेला थ्रेसहोल्ड नकटाएको एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत ल्याएको थियो, जुन अहिले माओवादीसँग मिलेर एकीकृत पार्टी नेकपा बनेको छ । गत निर्वाचनको तुलनामा यसपटक करिब १० लाख मतदाता थपिएका थिए । अघिल्लो निर्वाचनमा राष्ट्रिय दल बनेका जसपा र जनमतले भने यसपटक थ्रेसहोल्ड कटाउन सकेनन् ।
नयाँ पत्रिकाका बाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation