काठमाण्डौ । रोल्पामा हिजो भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । जीप दुर्घटनामा मृत्यु हुने २० जनाकै सनाखत जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जलजलामा भएको दुर्घटनामा मृत्यु हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।
यस्तै दाङको घोराही उपमहानगरपालिका–१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपति जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, ७ वर्षीय संयोग जिसी, २५ वर्षीया एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया विष्ट रहेका छन् ।
यस्तै दाङको शान्तिनगर गाउँपालिका स्थायी घर भई अहिले रुकुम पूर्वको सिस्ने–५ बस्ने जीप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने–५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वकै भूमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुक्मिणा बस्नेत रहेका छन् ।
रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ गुडिरहेको लु १ ज ४१६७ नम्बरको जीप हिजो दिउँसो ३ बजे दुर्घटनामा परेको थियो ।
जीपमा चालकसहित २१ जना सवार रहेका थिए । तीमध्ये रुकुम पूर्वको सिस्ने–५ का ३२ वर्षीय समीर कामी मात्रै जीवित रहेका छन् । समीरले जीप दुर्घटना हुन लाग्दा छतबाट हाम फालेर रुखको जरामा समातिँदै ज्यान जोगाउनुभएको हो ।

















